
अजय मिश्रा
कपिलवस्तु, माघ २३ गते ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक सुरज खत्री आएदेखि नै उनले आफ्नो क्षेत्राधिकारभित्र लागुऔषध कारोबारी तथा सेवनकर्ताहरूलाई नियन्त्रण गर्ने अभियान सञ्चालन गर्दै आएका छन्। स्थानीय समाजसेवीहरूले उनको प्रयासको खुलेर प्रशंसा गर्दै आएका छन् ।
यसै क्रममा, मंगलबार साँझ ३ बजे कृष्णनगर भन्सार कार्यालयअगाडि इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा बिजयनगर गाउँपालिका–४, बरगदाका २८ वर्षीय मतिउल्ला मुसलमान र बिजयनगर–३, कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन् । प्रहरीका अनुसार मतिउल्ला मुसलमानको साथबाट चार पुडिया ब्राउन सुगर (८२० मिलिग्राम), ब्लेडको टुक्रा, टेक्नो कम्पनीको मोबाइल, रातो-कालो रंगको पल्सर मोटरसाइकल (बा ६१ प ८५५४) तथा मैराज अहमदको साथबाट भिभो कम्पनीको मोबाइल बरामद गरिएको छ ।
हाल दुबै जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन् ।