
गाैशाला, माघ २४ गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष तथा कान्तिपुर दैनिकका संवाददाता सन्तोष सिंहको गाडी तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
घटनाको विवरण
गौशाला नगरपालिका–१२ स्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखिएको अवस्थामा सिंहको गाडी प्रदेश २–०१–०२३च ०२३९ नम्बरको गाडीमाथि आक्रमण भएको हो । तोडफोडबाट गाडीको अगाडिको भाग विशेष रूपमा क्षतिग्रस्त भएको छ ।
आक्रमणको आशंका
पहिलेदेखि नै समाचार लेख्दै आएका पत्रकार सिंहलाई लक्षित गर्दै नियोजित रूपमा यो आक्रमण भएको आशंका गरिएको छ। स्थानीय स्तरमा भइरहेका घटनाहरूको समाचार प्रकाशन गर्ने क्रममा कुनै समूह असन्तुष्ट बनेको हुनसक्ने अनुमान गरिएको छ। तर्साउने र भयभित बनाउने उद्देश्यले योजनाबद्ध रूपमा गाडी तोडफोड गरिएको हुनसक्ने संकेत देखिएको छ।
नेपाल पत्रकार महासंघको प्रतिक्रिया
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्वतन्त्र पत्रकारितामाथि भइरहेका आक्रमणप्रति कडा आपत्ति जनाएको छ। महासंघले घटनामा संलग्न दोषीहरूलाई तुरुन्त कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारहरूको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।
नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सचिव राम नारायण महतोले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गरिएको छ। उनले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै यदि यस्ता घटनाहरू पुनः दोहोरिएमा महासंघ कडा प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन्।
महासंघले पत्रकारहरूमाथि हुने आक्रमणलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भन्दै नेपाल सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।
सम्बन्धित निकायको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले प्रशासन, सुरक्षा निकाय तथा प्रेस सम्बन्धित संघ–संस्थालाई गम्भीरतापूर्वक घटनाको अध्ययन गरी पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम चाल्न अपिल गरेको छ। महासंघले पत्रकारितालाई धम्की दिने वा दबाब सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।