
गाैशाला, माघ २४ गते ।
महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–६ मजरा स्थित बर्दिबास-जलेश्वर सडक खण्डमा ६०४ किलोग्राम लागूऔषध गाँजा सहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मिति २०८१ माघ २४ गते राति करिब ८:३० बजे, जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागि जाँच गरेको थियो ।

जाँचका क्रममा ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले बेरेर लुकाइएका रातो प्लास्टिकका ४० वटा पोका भेटिएको प्रहरीले जनाएको छ । ती पोकामा गाँजा जस्तो पदार्थ रहेको पाइएपछि तौल गर्दा जम्मा ६०४ किलोग्राम रहेको पुष्टि भएको हो ।
प्रहरीले ट्रक र त्यसका चालक उदयपुर कटारी नगरपालिका-१ निवासी २३ वर्षीय गणेश बहादुर विश्वकर्मा लाई नियन्त्रणमा लिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।