
महेन्द्रनगर, माघ २६ गते ।
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१८ मा साउदी अरब गएका धनुषा मिथिला नगरपालिका–२ नक्टाझिजका कृष्णा कुमार यादवको निधन भएको झण्डै एक महिनापछि उनको शव घर आइपुगेको छ ।
पारिवारिक स्रोतका अनुसार, साउदी अरबमा कार्यरत यादवको एक महिना अगाडि मृत्यु भएको थियो । तर शव स्वदेश ल्याउनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समय लागेको कारण उनको पार्थिव शरीर लामो समयसम्म नेपाल आउन सकेको थिएन ।

आज बिहान यादवको शव घरमा आइपुगेपछि उनका परिवार, आफन्त तथा गाउँका स्थानीय बासिन्दाहरू शोकमा डुबेका छन् । घरमा शोकाकुल वातावरण छ र उनलाई अन्तिम श्रद्धाञ्जलि दिन स्थानीयको ठूलो भीड जम्मा भएको छ ।
हाल परिवारजन तथा गाउँलेहरू अन्तिम संस्कारको तयारीमा जुटेका छन् । परिवारजनले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका लागि राज्यले अझै प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन् ।