
चमेली सिंह
गौशाला, माघ २६ गते ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीसहित उहाँको टोलीलाई गौशाला नगरपालिकामा भव्य स्वागत गरिएको छ । नगर प्रमुख डा. दीपेन्द्र महतोले मन्त्री अधिकारीलाई स्वागत गर्दै नगरपालिकासम्बन्धी विभिन्न विषयमा छलफल गर्नुभयो ।
छलफलका क्रममा नगर प्रमुख महतोले गौशाला नगरपालिकाको भूमि व्यवस्थापन, गुठी जग्गा, सहकारी विकास तथा गरिबी निवारणसँग सम्बन्धित विषयहरूमा जानकारी गराउनुभयो । साथै, नगरपालिकाभित्रका भूमि समस्या समाधान, सहकारीहरूको सुदृढीकरण र गरिबी निवारणका लागि आवश्यक नीति तथा योजनाबारे सरकारको ध्यानाकर्षण गराइयो ।
मन्त्री अधिकारीले गौशाला नगरपालिकाको विकासका लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेष गरी गुठी जग्गा व्यवस्थापन, सहकारीहरूको प्रवर्द्धन र गरिबी निवारणका प्रभावकारी उपायहरूको पहिचान गरी समाधानका लागि पहल गरिने बताउनुभयो ।
सो अवसरमा मन्त्री अधिकारीको टोलीमा गुठी संस्थानका प्रशासक, सहायक प्रशासक तथा अन्य सरकारी अधिकारीहरू सहभागी थिए । स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा नगरवासीहरूको पनि उपस्थिति रहेको थियो ।
गौशाला नगरपालिकाका प्रमुख महतोले नगरको समग्र विकासका लागि नेपाल सरकारसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री अधिकारीको भ्रमणले नगरपालिकाको भूमि व्यवस्थापन तथा सहकारी विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।