
पवन प्रसाद साह
बिरगंज, माघ २६ गते ।
बाराकाे फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आय आर्जन सम्बन्धी बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ। माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष रुस्तम अंसारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह ले संयुक्त रूपमा गर्नुभएको थियो।
तालिममा कृषि प्रसार अधिकृत राजबंशी प्रसाद चौरसिया र कृषि अधिकृत राम बहादुर कुशवाहा ले प्रशिक्षण प्रदान गरेका थिए। सहभागी कृषकहरू सबिला खातुन र महमजान मियाले तालिम निकै प्रभावकारी भएको बताउँदै अर्गानिक उत्पादन प्रवर्द्धन र माटोको जैविक शक्ति बचाउन सिकिएको ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
आधुनिक कृषि प्रणालीमा कृषकलाई प्रेरित गर्ने प्रयास
तालिम समापन समारोहमा बोल्दै गाउँपालिका उप-प्रमुख निलम साह ले कृषकहरूलाई आधुनिक तथा व्यवसायिक खेती प्रणालीमा आकर्षित गराई आर्थिक समृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो। तालिमपछि कृषकहरूमा उत्पादन वृद्धिसँगै प्राविधिक ज्ञान र आत्मविश्वास बढेको उहाँको भनाइ थियो।
तालिमको क्रममा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको प्राविधिक टोली द्वारा ट्राइकोडर्मा मल्टिप्लाई गर्ने विधि सिकाइयो। प्रयोगात्मक ज्ञान प्राप्त गराउन ट्राइकोडर्मा मल सहभागी कृषकहरूलाई वितरण गरिएको थियो।
व्यावसायिक खेतीको लागि आवश्यक ज्ञान प्रदान
गाउँपालिकाका कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख सञ्जय कुशवाहा ले माटोको नमुना सङ्कलन, बेमौसमी नर्सरी निर्माण तथा व्यवस्थापन, प्राङ्गारिक मल र जीवाणुमल उत्पादन, बिरुवाको पोषण आवश्यकतासम्बन्धी जानकारी कृषकहरूलाई गराउनुभयो।
उद्यमशीलताको विकास र कृषकको आम्दानी वृद्धि हुने अपेक्षा
कार्यक्रमका अध्यक्ष रुस्तम अंसारी ले उद्यमशीलताको क्षमता अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु आवश्यक रहेको बताउँदै, तालिमले कृषकहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
तालिममा गाउँपालिका उप-प्रमुख निलम साह, लेखा शाखा प्रमुख भोला प्रसाद यादव, इन्जिनियर जाकिर हुसेन अंसारी, समाजसेवी मनोज साह कलवार लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस तालिममा परवानीपुर गाउँपालिकाका कृषि अधिकृत, कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत तथा ३० जना कृषकहरू सहभागी भएका थिए ।


