
अजय मिश्रा
कपिलवस्तु, माघ २८ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा आयोजित KPL Premier Cup 2081 को समापन भव्य रूपमा सम्पन्न भएको छ। युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल सामाजिक मञ्च को आयोजनामा माघ १२ गतेदेखि सुरु भएको यो प्रतियोगिता आज विधिवत रूपमा समापन भएको हो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरू को सहआयोजना रहेको थियो। समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले आयोजक टिमलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट खेलकुद क्षेत्रमा विशेष सहयोग गर्ने आश्वासन दिनुभयो। साथै, कपिलवस्तुका खेलाडीहरूका लागि खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन, र विशेष बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसी ले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो। पूर्वमन्त्री ईश्वर दयाल मिश्र ले कपिलवस्तु जस्तो पछाडि परेको क्षेत्रमा यस्ता खेलकुद प्रतियोगिताहरू आयोजना हुनु अत्यन्त सकारात्मक भएको बताउँदै, आगामी दिनमा पनि युवाहरू यस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्ने उल्लेख गर्नुभयो।
मोतिनगरले बहादुरगंजलाई पराजित गर्दै उपाधि हात पार्यो
आज सम्पन्न फाइनल खेलमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज र शिवराज नगरपालिकाको मोतिनगर बीच रोमाञ्चक प्रतिस्पर्धा भयो।
खेल संयोजक रहित शाह का अनुसार, मोतिनगरले बहादुरगंजलाई हराउँदै च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। मोतिनगरले १ सय ३१ रनको लक्ष्य दिएको थियो, तर बहादुरगंज ५६ रनमै अलआउट हुन पुगेपछि KPL Premier Cup 2081 को उपाधि मोतिनगरको पोल्टामा परेको हो।
विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरू
- विजेता (मोतिनगर) : रु १ लाख १ हजार नगद पुरस्कार
- उपविजेता (बहादुरगंज) : रु ५१ हजार नगद पुरस्कार
- म्यान अफ द सिरिज : लुम्बिनी प्रदेश प्रहरीका क्रिकेट खेलाडी युवराज सेन
आयोजक समितिका मिर्जा राशिद बेग, अकरम पठान, र रहिश शाह लगायतका व्यक्तिहरू प्रतियोगितालाई कपिलवस्तु जिल्लामा ऐतिहासिक बनाउन सफल भएको बताइएको छ।
२५ भन्दा बढी समूह को सहभागिता रहेको यो प्रतियोगिता स्थानीय खेलाडीहरूका लागि ठुलो अवसर बनेको छ। खेलकुदप्रति युवाहरूको बढ्दो आकर्षणलाई संस्थागत गर्दै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्ने आवाज उठेको छ।