
अजय मिश्रा
कृष्णनगर, माघ ३० गते ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा लागु औषध कारोबार तथा सेवन नियन्त्रण अभियान तीव्र बनाइएको छ। खत्री कार्यभार सम्हालेदेखि नै लागु औषध कारोबारी तथा प्रयोगकर्ताविरुद्ध कडा कारबाही भइरहेको छ। उनले विशेष प्रहरी टोली परिचालन गरी लागु औषध कारोबार नियन्त्रणलाई प्राथमिकता दिएको बताएका छन्।
पछिल्लो समय लागु औषध मुद्दामा वृद्धि
प्रहरी निरीक्षक खत्रीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लागु औषध सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा साउनदेखि हालसम्म १८ वटा मुद्दा दर्ता भइसकेका छन्। यही अवधिमा २७ जना पुरुष र २ जना महिलाविरुद्ध लागु औषध मुद्दा चलाइएको छ।
यो संख्यालाई कृष्णनगरको इतिहासमै सबैभन्दा ठूलो सफलता मानिएको छ। समाज र युवापुस्तालाई कुलतबाट जोगाउन गरिएको यस अभियानप्रति स्थानीय समाजसेवीहरूले खुलेरै प्रशंसा गरेका छन्।
ब्राउन सुगरसहित पारस गौड पक्राउ
माघ २९ गते मंगलबार साँझ ८:३० बजे, कृष्णनगर नगरपालिका-३ ट्रान्समिटर क्षेत्रबाट लागु औषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका भारत उत्तर प्रदेश, बलरामपुर मदरहवा कला पोस्ट, बिशनपुर टनटनवा भगगौर बस्ने पारस गौड (३८ वर्ष) लाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँच गर्दा गौडको साथबाट २ पुडिया ब्राउन सुगर जस्तो देखिने २७० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको थियो। उनलाई पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।
पहिले पनि चोरी मुद्दामा जेल परेका थिए गौड
इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार पारस गौड यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए। २०८१ साल जेठ २५ गते चोरी मुद्दामा पक्राउ परी ३ महिना कैद भुक्तान गरी छुटेका थिए। तर जेलमुक्त भएसँगै उनी पुनः अवैध कार्यमा संलग्न भएको खुलेको छ।
लागु औषध नियन्त्रणमा निरन्तर कडाइ
प्रहरी निरीक्षक खत्रीले लागु औषध कारोबार नियन्त्रणका लागि अझ सशक्त अभियान सञ्चालन गर्ने बताए। “युवाहरूलाई कुलतबाट जोगाउन लागु औषध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हो। यस अभियानलाई थप प्रभावकारी बनाइनेछ,” उनले भने।
उनको नेतृत्वमा भएको कडा एक्सनका कारण कृष्णनगर क्षेत्रमा लागु औषध कारोबारमा संलग्नहरू निरन्तर पक्राउ परिरहेका छन्। प्रहरी प्रशासनको सक्रियताले अवैध कारोबारमा संलग्न व्यक्तिहरूमा त्रास बढाएको छ भने स्थानीय समुदायमा सुरक्षा प्रत्याभूति भएको छ।