
गोपाल झा
जलेश्वर, माघ ३० गते ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको कार्यालयको सभा कक्षमा बुधबार २०८१/८२ को स्थानीय विपद् व्यवस्थापनसम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय बासिहरू, प्रशासनिक निकायका प्रमुखहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरु आफूहरूले भोगेका विभिन्न प्राकृतिक विपद्का अनुभव तथा समस्याहरू राखेका थिए । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, पूर्वतयारीका उपायहरू, राहत व्यवस्थापन तथा पुनर्स्थापनाका विषयमा व्यापक छलफल गरिएको थियो ।
स्थानीयले बाढी, आगलागी, भूकम्प, र शीतलहरजस्ता प्रमुख विपद्हरूसँग जुध्दा भोग्नुपरेका कठिनाइहरू खुलस्त राखेका थिए । विपद् व्यवस्थापनको तयारीमा आवश्यक पर्ने सामग्रीहरू—जस्तै सावेल, कोदालो, बालुवा भरिएको बोरा जस्ता साधनहरुको अभाव रहेको बताए । साथै, विपद् आएको बेलामा उद्धार कार्य प्रभावकारी बनाउन गाउँ तहमै विपद् व्यवस्थापन टोली तथा आपत्कालीन उद्धार सामग्री उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको थियो ।
कर्यत्रममा आफ्नो मन्तब्य राख्दै वडा नं. २ का वडाध्यक्ष सखीचन्द यादवले आफ्नो वडामा विपद् व्यवस्थापनका लागि पूर्वतयारी भइरहेको जानकारी दिए । उनले विपद् न्यूनीकरणका लागि सुरक्षानिकायसँग समन्वय गरी विपद् व्यवस्थापनका सामग्रीहरू राख्ने, आगलागीका घटनाहरू रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउनेतथा बाटोघाटोको समस्यालाई पूर्ण रूपमा ध्यान दिने बताए ।
उनले अतिक्रमणको चपेटामा परेका सडकहरूको सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका छन् । साथै, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारीहरूमा वडा कार्यालय जुटिसकेको समेत उनले बताए ।
कार्यक्रमका अध्यक्ष एवं एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले विपद् व्यवस्थापनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आम नागरिकहरूबाट सुझाव तथा समर्थनको अपेक्षा राखेका थिए ।
उनले मानव सिर्जित विपद्हरू नियन्त्रण गर्न कडा नीति अपनाइने उल्लेख गरे । विशेष गरी, सडक अबरुद्ध पार्ने गरी निर्माण सामग्री राख्ने, गोबर, गुइँठा तथा गाईवस्तु बाँधेर राख्ने जस्ता कार्यहरू हटाइने जानकारी दिए । नगर सफा तथा व्यवस्थित बनाउने उद्देश्यले यो योजना ल्याइएको उल्लेख गर्दै यस कार्यमा सबै नागरिकको सहयोग अपरिहार्य रहेको बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विपद् व्यवस्थापनका उपायहरूबारे प्रकाश पार्दै महोत्तरी जिल्लाको भूगोल र अवस्थालाई ध्यानमा राख्दै चार प्रमुख विपद्हरू—बाढी, आगलागी, भूकम्प, र शीतलहर—बढी असर पार्ने गरेको बताए । उनले विपद् न्यूनीकरणका लागि प्रत्येक वडामा विपद् व्यवस्थापन किट अनिवार्य रूपमा राख्नुपर्ने गाँउपालीका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी, सर्पदंशसम्बन्धी समस्या पनि उठाइएका कारण प्रमुख जिल्ला अधिकारी कवारीले हाल नेपाल आर्मी मातहत बर्दिबासमा मात्र रहेको सर्पदंश उपचार केन्द्रलाई अन्य आवश्यक स्थानहरूमा पनि स्थापना गर्न पहल गरिने आश्वासन दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्ण, एकडारा गाएपालीकाका स्वास्थ्य संयोयक महेन्द्र कुमार मण्डल, सुरक्षा निकायका प्रमुखहरू, वडाअध्यक्ष तथा सदस्यहरू, पत्रकारहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
स्वास्थ्य संयोयक मण्डलले विपद् व्यवस्थापनमा स्वास्थ्य सेवाको महत्त्व उल्लेख गर्दै प्राथमिक उपचार तालिम, औषधि आपूर्ति, र उद्धार टोली गठन आवश्यक रहेको बताए । सुरक्षानिकायका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि प्रशासन, स्थानीय सरकार र नागरिकबीच समन्वय जरुरी रहेकोमा जोड दिएका छन् ।
बुधबार सम्पन्न कार्यक्रमले विपद् व्यवस्थापनका विषयमा स्थानीय बासिन्दा, प्रशासनिक अधिकारी तथा अन्य सरोकारवालाहरूबीच अन्तरक्रिया गर्दै उपयोगी सुझावहरू संकलन गर्न सफल भयो । सहभागीहरूले स्थानीय तहमा पूर्वतयारी तथा उद्धार प्रक्रियालाई व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
कार्यक्रमको अन्त्यमा, गाउँपालिकाका प्रमुख तथा अन्य अधिकारीहरूले सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । यसरी, विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रयासस्वरूप एकडारा गाउँ पालीकामा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।