
राजेश सिंह
गाैशाला, फाल्गुन २ गते ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ८, विर्तामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) द्वारा आधारभूत संगठन निर्माण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि डा. सुरेन्द्र यादवले जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्दै संगठन सशक्त बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताए । उहाँले जसपा नेपालले जनताका मुद्दालाई प्राथमिकतामा राख्दै समावेशी राजनीतिक प्रणालीलाई संस्थागत गर्न भूमिका खेलिरहेको उल्लेख गरे ।
विशिष्ट अतिथि सरोज सिंह कुशवाहाले स्थानीयस्तरमा पार्टीको सशक्त उपस्थिति आवश्यक रहेको भन्दै, संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । उहाँले पार्टी संगठनलाई बलियो बनाउन स्थानीय स्तरमा राजनीतिक प्रशिक्षण तथा सदस्यता विस्तार अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि संगठन विस्तार, पार्टी नीति प्रचार-प्रसार, र जनताको विश्वास जित्नका लागि क्रियाशील भएर लाग्नुपर्ने कुरा व्यक्त गरे । नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै उनीहरूलाई पार्टीका नीति तथा सिद्धान्तबारे प्रशिक्षण दिइयो । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरूले जसपाले सञ्चालन गरिरहेका अभियानहरूप्रति चासो देखाउँदै पार्टी संगठनलाई मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले यस अभियानले स्थानीय तहमा पार्टीको प्रभाव बढाउने विश्वास व्यक्त गरेका छन् । जसपा नेपालले सञ्चालन गरिरहेको आधारभूत संगठन निर्माण अभियानअन्तर्गत रामगोपालपुर नगरपालिका-८ मा भएको यो कार्यक्रम सफल भएको नेताहरूले बताएका छन् । पार्टी संगठनलाई थप सशक्त बनाउन आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस्ता अभियान सञ्चालन गरिने योजना रहेको आयोजकहरूले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवं प्रदेश सांसद सरोज सिंह कुशवाहा, जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र सिंह, नगर संयोजक सुरेश यादव, सह-संयोजक विजय यादव, वडा कमिटी अध्यक्ष बिपिन मण्डल लगायत अन्य स्थानीय नेताहरू र कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।