
गाैशाला, फाल्गुन ३ गते ।
महोत्तरीको सोनमा गाउँपालिकामा आयोजित दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री सरस्वती जनता माध्यमिक विद्यालय, सोनमा (तरहारी) ले विजयी हुँदै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले ९ स्वर्ण (गोल्ड) पदक सहित कुल १९ पदक जितेर उपाधि आफ्नो कब्जामा लिएको हो ।
प्रतियोगितामा विभिन्न विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । श्री सरस्वती जनता मा.वि. सोनमाले ९ स्वर्ण, ८ रजत (सिल्भर) र २ कांस्य (ब्रोन्ज) पदक गरी कुल १९ पदक जितेर प्रथम स्थान हासिल गर्यो ।
अन्य विद्यालयहरूको स्थान यस प्रकार छ :
- दोस्रो स्थान: मा.वि. खखना – ९ स्वर्ण, ६ रजत, ५ कांस्य (कुल २० पदक)
- तेस्रो स्थान: मा.वि. सिहासनी – ४ स्वर्ण, ५ रजत, ११ कांस्य (कुल २० पदक)
- चौथो स्थान: मा.वि. सुन्दरपुर – ४ स्वर्ण, ५ रजत, ५ कांस्य (कुल १४ पदक)
- पाँचौं स्थान: मा.वि. खैरबनी – ३ स्वर्ण, १ रजत, २ कांस्य (कुल ६ पदक)
- छैठौं स्थान: मा.वि. खेस्राहा – १ स्वर्ण, २ रजत, १ कांस्य (कुल ४ पदक)
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायतका खेलहरू समावेश थिए । सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले शटपुट फालेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रमुख विशेषता:
सोनमा गाउँपालिकाभित्र रहेका छ वटा माध्यमिक विद्यालयहरूले प्रतियोगितामा भाग लिएका थिए । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितालाई आगामी वर्षहरूमा अझ भव्य रूपमा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष यादवले बताए । साथै, विद्यालयहरूमा खेलकुद सामग्री उपलब्ध गराएर दक्ष खेलाडी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुरस्कार वितरण:
विजयी खेलाडीहरूलाई कप, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले वितरण गरेका थिए । साथै, प्रतियोगितामा सहयोग गर्ने गाउँपालिका अध्यक्ष, शिक्षा संयोजक, सहायक शिक्षा संयोजक, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संयोजक, सुरक्षाकर्मी, प्रशिक्षक, पत्रकार आदिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता शिक्षा संयोजक कौशल कुमार यादवले गरेका थिए भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव थिए । विशिष्ट अतिथिहरूमा वडा नं. २ का अध्यक्ष राम जीवन यादव, वडा नं. ४ का अध्यक्ष मिठु यादव, वडा नं. ५ का अध्यक्ष दिलकुमार यादव, जिल्ला खेलकुद विकास समितिका प्रमुख सुभास चन्द्र लाल कर्ण, सशस्त्र बेश क्याम्प रघुनाथपुरका डिएसपी सुजन आचार्य, प्रहरी चौकी रघुनाथपुरका प्रमुख निरीक्षक राम देव चौधरी लगायत विभिन्न विद्यालयका प्राचार्य, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक, बुद्धिजीवी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।




