
जनकपुरधाम, फागुन ७ गते ।
जनकपुरधामको भानुचोक नजिकै नेपाल पत्रकार महासंघको मधेश प्रदेश कार्यालय व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ। महासंघका महासचिव शैलेन्द्र क्रान्ति महतोका अनुसार कार्यालयको आवश्यक पूर्वाधार तथा व्यवस्थापनको काम लगभग पूरा भइसकेको छ र अब छिट्टै विधिवत रूपमा उद्घाटन गर्ने तयारी भइरहेको छ।
महासचिव महतोले कार्यालय सञ्चालनसँगै मधेश प्रदेशका पत्रकारहरूलाई सहज वातावरणमा काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे। नयाँ कार्यालय स्थापना भएपछि पत्रकार महासंघले सञ्चारकर्मीहरूका हक, अधिकार तथा पेशागत सुरक्षाका विषयमा थप सक्रिय भूमिका निर्वाह गर्ने उहाँले बताए।
हाल कार्यालय भाडाको घरमा व्यवस्थापन गरिएको छ। महासंघ मधेश प्रदेश समिति आफ्नै स्थायी भवन निर्माणका लागि जनकपुरधाममा जग्गा प्राप्तिको प्रक्रियामा प्रयासरत रहेको महासचिव महतोले जानकारी दिए। जग्गा प्राप्त भएलगत्तै स्थायी कार्यालय भवन निर्माणका लागि आवश्यक पहल थालिनेछ।
नेपाल पत्रकार महासंघको मधेश प्रदेश समिति लामो समयदेखि आफ्नै कार्यालय स्थापनाको आवश्यकताबारे चर्चा गर्दै आएको थियो। यस नयाँ कार्यालय स्थापनासँगै पत्रकारहरूको क्रियाकलाप थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

महासंघका पदाधिकारीहरूका अनुसार कार्यालय उद्घाटनका लागि मिति छिट्टै तय गरिनेछ। उद्घाटन समारोहमा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ।
यस कार्यालयले मधेश प्रदेशका पत्रकारहरूलाई मात्र नभई समग्र सञ्चार क्षेत्रको सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
