
गाैशाला, फाल्गुन ७ गते ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीले विकासको मामिलामा युवाहरूलाई नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा जोड दिएका छन्। बुधवार युवा संघ नेपाल गौशाला नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद महतोले उक्त विचार व्यक्त गरेका हुन्।
उनले भने, “युवाले अब अर्जुनदृष्टि जस्तै लक्ष्य लिएर विकासको पथमा हिँड्नुपर्छ। अनि मात्र देश र समाजको समग्र विकास सम्भव छ।”
भविष्यका कर्णधार मानिने युवालाई राज्यले उचित स्थानमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले थपे, “म युवाहरूलाई हरसम्भव सहयोग गर्नेछु। ‘मिशन ८४’ लाई लक्षित गरी सफलता हासिल गर्न हो भने युवालाई पार्टीले प्रशिक्षण दिई सही ठाउँमा प्रयोग गर्नुपर्छ।”
युवामैत्री नीति आवश्यक : अजय कुशवाहा
उक्त अवसरमा एमाले गौशाला नगर अध्यक्ष अजय कुशवाहाले युवाहरू विदेशिन बाध्य हुनुपरेको विषयलाई उठाउँदै अब सरकारले युवामैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले भने, “युवा परिवर्तनका सारथी हुन्। युवा विनाको विकास असम्भव छ। त्यसैले सरकारले युवाको उचित व्यवस्थापन गर्नुपर्छ।”

सदरे आलम बने गौशाला नगर अध्यक्ष
युवा संघ नेपाल गौशालाको नगर अध्यक्षमा सदरे आलम चयन भएका छन्। उनको नेतृत्वमा नयाँ नगर कमिटी चयन गरिएको छ। युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतोका अनुसार नवनिर्वाचित समितिलाई आजै सपथ ग्रहण गराई कार्यसम्पादनमा खटाइएको छ।
