
ऐजेन्सी
जनकपुरधाम, फाल्गुन ७ गते ।
२७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा) ले नयाँ दिल्लीको सत्ता पुनः हात पार्दै रेखा गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। हिजो साँझ सम्पन्न भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्ताको नाम सर्वसम्मतले अघि सारेको हो। बैठकमा ओमप्रकाश धनखडलाई पर्यवेक्षकको जिम्मेवारी दिइएको थियो।
रेखा गुप्ताको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा आयोजना हुनेछ। उनी शालिमारबाग क्षेत्रबाट निर्वाचित भएकी हुन्। यसपटकको दिल्ली विधानसभा चुनावमा भाजपा ७० सिटमध्ये ४८ सिट जितेर स्पष्ट बहुमतसहित सत्तामा फर्किएको हो।
मुख्यमन्त्री पदका लागि गुप्तासँगै प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद र सतिश उपाध्याय पनि आकांक्षी रहेका थिए।
यसबीच, आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले नयाँ मुख्यमन्त्री र सरकारलाई दिल्लीको समृद्धि र विकासका लागि पूर्ण समर्थन गर्ने बताएका छन्।