
काठमाडौं, फागुन ११ गते ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव देखिएको छ।
हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम प्रायः सफा देखिएको छ। तराईका केही भागहरूमा हुस्सु लागेको उल्लेख गरिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रही एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाडी भूभागहरूमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ।
आजको सूर्योदय बिहान ६:३४ बजे र सूर्यास्त साँझ ६:०० बजे हुने विभागले जनाएको छ।