
गौशाला, फाल्गुन १२ गते ।
महोत्तरीको एकडारा गाउँपालिकामा आयोजना गरिएको “मेयर कप टि-२० क्रिकेट प्रतियोगिता” सुरु भएको छ। पाँच गेना बथनाहास्थित खेलमैदानमा सम्पन्न उद्घाटन समारोहमा पालिका अध्यक्ष दीप नारायण मन्डलले खेलको उद्घाटन गर्नुभयो। प्रतियोगिता एकडारा गाउँपालिका द्वारा सञ्चालित र जनकपुर लायन्स युथ क्लबको आयोजनामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा गाउँपालिकाभित्रका ६ वटै वडाका टिमहरू सहभागी भएका छन्। खेलाडीहरूलाई खेलको लागि आवश्यक सम्पूर्ण सामग्री—जस्तै खेलकुद पोशाक, जुत्ता, ब्याट, ग्लोभ्स, विकेट आदि—पालिका अध्यक्ष दीप नारायण मन्डल, उपाध्यक्ष महजबी खातुन, र प्रशासकीय अधिकृत योगेश कुमार यादवको उपस्थितिमा वितरण गरिएको थियो।

प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल वडा नं. ४ हलखोरी र वडा नं. ५ बहेडा बथनाहाबीच सम्पन्न भयो। रोमाञ्चक खेलमा हलखोरीले बहेडा बथनाहालाई ३ रनले पराजित गर्दै विजयी भएको छ।
खेल उद्घाटन समारोहमा बोल्दै पालिका अध्यक्ष दीप नारायण मन्डलले प्रतियोगिताको उद्देश्य पालिकाभित्र लुकेका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने रहेको बताउनुभयो। “यस्ता प्रतियोगिताले युवा पुस्तालाई खेलप्रति आकर्षित गर्दै उनीहरूलाई नकारात्मक क्रियाकलापबाट टाढा राख्न सहयोग गर्छ,” उहाँले भन्नुभयो।
जनकपुर लायन्स युथ क्लबका संयोजकले पनि यस्ता प्रतियोगिताले सामुदायिक भावनालाई बलियो बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगिता आगामी हप्तासम्म जारी रहनेछ र उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

















