
जनकपुरधाम, फागुन १३ गते ।
शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ शहिदनगर नगरपालिका वार्ड नं. ३ स्थित श्री जनता एकाई उच्च माध्यमिक विद्यालयमा ‘हेल्दी स्कुल’ कार्यक्रम सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता तथा मधेश प्रदेशका सांसद रामअशिष यादवको परिकल्पनामा सञ्चालित यो अभियान अन्तर्गत धनुषा क्षेत्र नं. २ का केही ग्रामीण सामुदायिक विद्यालयहरूमा ‘हेल्दी स्कुल’ कार्यक्रम विस्तार गरिएको छ।

कार्यक्रमको विशेष अवसरमा मधेश प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष तथा शिक्षा क्षेत्रका धरोहर प्रा. डा. भोगेन्द्र झाको उपस्थितिमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणका क्रममा दाँत, आँखा र कानसम्बन्धी सामान्य समस्या देखिएका केही बालबालिकालाई औषधि वितरण गरिएको संयोजक डा. निरञ्जन कुमार गोईतले जानकारी दिए।

विद्यालयमा आयोजित कार्यक्रममा डा. दीपेन्द्र यादव, डा. एम.के. ठाकुर, डा. ललिता यादव र डा. कृष्णा पाल महतोसहितको चिकित्सक टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।

सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र मण्डलले सहभागी चिकित्सक तथा अतिथिहरूलाई सम्मान गरेका थिए। कार्यक्रममा प्रा. डा. भोगेन्द्र झाले शिक्षाको महत्त्वमाथि जोड दिँदै व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि ५० थान महत्वपूर्ण पुस्तकहरू विद्यालयलाई प्रदान गरेका छन्।

कार्यक्रमका संयोजक डा. गोईतले देशको भविष्य निर्माणमा विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताउँदै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकास, शिक्षक प्रशिक्षण तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गर्न ‘हेल्दी स्कुल’ अभियानको थालनी गरिएको जानकारी दिए।



