
गाैशाला, फाल्गुन १४ गते ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर १ मा हुलाकी सडकदेखि खैरा खेल मैदानसम्म पिसिसी ढलानको शिलान्यास गरिएको छ। बुधबार एक विशेष समारोहका बीच पूर्वमन्त्री डा. सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त कार्यको औपचारिक शुभारम्भ गरिएको हो ।
समारोहमा बोल्दै प्रमुख अतिथि डा. सुरेन्द्र यादवले आधारभूत पूर्वाधारको विकास बिना कुनै पनि क्षेत्रको समृद्धि सम्भव नभएको बताउँदै आगामी दिनमा पनि गाउँपालिकाका अन्य क्षेत्रमा सडक, विद्युत् तथा खानेपानी जस्ता संरचनागत विकासलाई प्राथमिकता दिइने बताए ।

गाउँपालिका अध्यक्ष रामनाथ यादवले सम्सी क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अन्य विकास परियोजनाहरू पनि क्रमशः कार्यान्वयन हुँदै जाने जानकारी गराए ।
स्थानीयको आशा र महत्व
उक्त सडक क्षेत्रको पिसिसी ढलानले विशेषगरी वर्षायाममा हुने हिलो तथा धुलोको समस्याबाट स्थानीय बासिन्दालाई मुक्ति दिलाउने अपेक्षा गरिएको छ । स्थानीय जनताले लामो समयदेखि सडक सुधारको माग गर्दै आएका थिए, जसअनुसार गाउँपालिकाले पहल गर्दै निर्माण प्रक्रिया अघि बढाएको हो ।
सम्सी गाउँपालिका वडा नम्बर १ मा पिसिसी ढलान भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने मात्र होइन, क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । निर्माण कार्य छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिवद्धता स्थानीय जनप्रतिनिधिले व्यक्त गरेका छन् ।
शिलान्यास समारोहको उपस्थिति
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव रहेका थिए भने प्रमुख प्रशासकीय अधिकृत मनोज शाह, वडा नम्बर २ का अध्यक्ष राजीब यादव, लालेन्द्र यादव, युवा नेता संजय यादव, विजय कुमार यादव, तेज नारायण यादव, लालबाबू यादव लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।



