
गाैशाला, फागुन १६ गते ।
जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीले आज गौशलामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम प्रभु बचत तथा ऋण सहकारी संस्थाको हलमा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको सदस्यता विस्तार, बचत संकलन, सहकारीसम्बन्धी जारी अध्यादेश तथा समसामयिक विषयहरूमा छलफल गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष गगनदेव यादव, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मण यादव, उपाध्यक्ष लिलामणि आचार्यसहित स्थानीय सातवटा बचत तथा ऋण सहकारी संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले सहकारीहरूको आर्थिक सुदृढीकरण, सदस्यता अभिवृद्धि तथा वर्तमान कानुनी प्रावधानका प्रभावबारे विस्तृत छलफल गरेका थिए । साथै, सहकारीहरूको प्रभावकारी व्यवस्थापन र वित्तीय पारदर्शिताको विषयमा पनि व्यापक बहस गरिएको थियो ।

संघका अध्यक्ष गगनदेव यादवले सहकारी संस्थाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, सदस्यता विस्तार तथा आर्थिक स्थायित्वका लागि योजनाबद्ध रूपले अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सहभागी सहकारी प्रतिनिधिहरूले पनि आ-आफ्ना संस्थाहरूमा देखिएका समस्या तथा समाधानका उपायहरूबारे आआफ्ना धारणा राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमले जिल्ला स्तरीय सहकारी संस्थाहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।
