
काठमाडौँ, फागुन १६ गते ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व २०८१ मा सहभागी भएका साधुसन्त बाबाहरूलाई आज औपचारिक रूपमा बिदाइ गरेको छ । भारत लगायत विभिन्न देशबाट आएका साधुसन्तहरूलाई कोषले रुद्राक्षको माला लगाइदिएर बाटो खर्चसहित बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार, यस वर्ष महाशिवरात्रि पर्वका लागि आएका ३ हजारभन्दा बढी साधुसन्तलाई श्रेणी छुट्याई आर्थिक सहयोगसहित बिदाइ गरिएको छ । कोषले साधुसन्तहरूको वरिष्ठताको आधारमा ९ श्रेणी छुट्याएको थियो ।

बिदाइका क्रममा प्रत्येक साधुसन्तलाई श्रेणीअनुसार विभिन्न रङका कार्ड प्रदान गरिएको थियो । पहिलो श्रेणीअन्तर्गत रहेका सभापति तथा अखडाका संरक्षकहरूलाई गुठी संस्थानले ९ हजार रुपैयाँ तथा कोषले थप ४५ सय रुपैयाँ गरी कुल १३ हजार ५ सय रुपैयाँ प्रदान गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
पशुपति क्षेत्रमा प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा हजारौँ साधुसन्तहरू भेला हुने गर्छन् । उनीहरूको सत्कार, भोजन, आवास तथा बिदाइका लागि कोषले विशेष व्यवस्था गर्दै आएको छ। यस वर्ष पनि कोषले परम्परागत रूपमा साधुसन्तहरूलाई सत्कार गर्दै सम्मानपूर्वक बिदाइ गरेको हो ।
