https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १८ गते ।
हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्था बोकेको ‘मिथिला माध्यमिकी परिक्रमा’ आज मटिहानीमा आइपुगेको छ। करिब १५ दिनसम्म चल्ने यो धार्मिक यात्रा मिथिलाञ्चलको इतिहास, संस्कृति, परम्परा र श्रद्धासँग गहिरो रूपमा जोडिएको छ। नेपाल र भारतका हजारौं भक्तजन तथा साधु-सन्तहरूको सहभागिता रहेको यस परिक्रमा यात्रा भगवान राम र माता सीताको पवित्र स्थलहरूमा पुग्ने परम्परागत धार्मिक यात्रा हो।

परिक्रमा यात्रा र यसको परम्परा

परम्पराअनुसार, फागुन कृष्ण औंसीका दिन जनकपुरको रत्नसागर र अग्निकुण्डबाट किशोरीजी (सीता माता) को डोला तथा ठेराकचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको डोला निस्कन्छ। जानकी मन्दिर हुँदै यी डोला जनकपुरको हनुमाननगर पुग्छन्, जसलाई माध्यमिकी परिक्रमा प्रारम्भ हुने मुख्य स्थल मानिन्छ।

यो परिक्रमा त्रेतायुगदेखि नै निरन्तर चल्दै आएको मानिन्छ। धार्मिक विश्वास अनुसार, भगवान रामले राजा जनककी छोरी सीता सँग विवाह गरेपछि जनकपुरधाम आसपासका धार्मिक स्थलहरूको परिक्रमा गरेका थिए, जुन परम्परा आजसम्म जीवित रहेको छ।

परिक्रमा मार्ग र महत्व

यस परिक्रमा यात्राले मिथिलाञ्चलका प्रमुख धार्मिक स्थलहरू जोड्दछ। कुल १३ वटा विश्रामस्थल नेपालमा र २ वटा भारतमा पर्दछन्। १५ दिनसम्म चल्ने यात्रामा सहभागीहरूले एक सय ३३ किलोमिटरको दूरी पैदल यात्रा गर्छन्।

परिक्रमा मार्ग निम्नानुसार छ:

  1. पहिलो दिन: परिक्रमा जनकपुरको हनुमाननगरबाट सुरु हुन्छ।
  2. दोस्रो दिन: भारतको कल्याणेश्वर महादेव पुग्छ।
  3. तेस्रो दिन: फुलहर (गिरिजास्थान) हुँदै नेपाल प्रवेश गर्छ।
  4. चौथो दिन: महोत्तरी जिल्लाको मटिहानी आइपुग्छ।
  5. पाँचौँ दिन: भक्तजन जलेश्वरनाथ महादेवको दर्शन गर्न जलेश्वर पुग्छन्।
  6. छैटौँ दिन: मडईमा विश्राम गरिन्छ।
  7. सातौँ दिन: ध्रुव कुण्डमा विश्राम हुन्छ।
  8. आठौँ दिन: कञ्चनवन हुँदै पर्वता पुगिन्छ।
  9. नवौँ दिन: हनुमानजीको मन्दिर रहेको पर्वता पुगिन्छ।
  10. दसौँ दिन: धनुषाधाम पुगेर पूजाअर्चना गरिन्छ।
  11. एघारौँ दिन: सतोषर पुगिन्छ।
  12. बाह्रौँ दिन: औरहीमा भक्तजनहरू कमला नदीमा स्नान गरी पूजाअर्चना गर्छन्।
  13. तेह्रौँ दिन: भारतको विशौलमा पूजा गरिन्छ।
  14. चौधौँ दिन: कलाणेश्वरमा पुनः विश्राम गरिन्छ।
  15. पन्ध्रौँ दिन: परिक्रमा पूर्ण गरी भक्तजनहरू फागु पूर्णिमाको दिन पुनः जनकपुर फर्किन्छन्।

पर्यटन र धार्मिक महत्व

मिथिला परिक्रमा न केवल धार्मिक यात्रा हो, बरु यसले नेपाल–भारत सम्बन्धलाई सांस्कृतिक रूपमा बलियो बनाउने भूमिका पनि खेल्छ। हजारौं भक्तजनहरू सहभागिता जनाउने भएकाले यो यात्रा पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण छ।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवका अनुसार, परिक्रमा केवल धार्मिक क्रियाकलाप नभई मिथिला संस्कृतिको जीवित अभिव्यक्ति हो। “यो यात्राले धार्मिक सद्भाव, सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्छ,” उहाँले बताउनुभयो।

नेपाल र भारतका विभिन्न भागबाट आएका साधुसन्त, भक्तजन तथा पर्यटकहरू यो धार्मिक यात्रामा सहभागिता जनाउने गर्छन्। विशेष गरी, अयोध्या, मथुरा, हरिद्वार, सीतामढी, वैजनाथ धामका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने गर्छ।

मिथिला माध्यमिकी परिक्रमा मिथिला सभ्यता, हिन्दू धर्म, रामायणकालीन इतिहास तथा नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतिक हो। यो यात्राले श्रद्धालुहरूलाई धार्मिक आस्था बलियो बनाउने अवसर दिनुका साथै मिथिला क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न ठूलो योगदान दिन सक्छ।

फागुन पूर्णिमासम्म चल्ने यस परिक्रमा यात्राले मिथिला क्षेत्रलाई भक्तिमय बनाएको छ, जहाँ भक्तजनहरूको भीड, भजन-कीर्तन र धार्मिक उल्लासले वातावरण रमाइलो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार