
गाैशाला, फाल्गुन १८ गते ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत परिक्रमा यात्रीहरूको स्वागतका लागि महोत्तरीको जलेश्वर नगरपालिकाले एक दिने स्थानीय विदा दिने घोषणा गरेको छ। नगरपालिकाले सोमबार, फागुन १९ गते परिक्रमाको पाँचौं दिन परिक्रमा टोली जलेश्वर आइपुग्ने भएकाले नगर क्षेत्रमा विदा दिने निर्णय गरेको हो।
नगरप्रमुख सुरेश साह सोनारले आइतबार एक सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार परिक्रमा टोलीको आगमन, उनीहरूको स्वागत तथा विश्रामको सहजताका लागि नगरपालिकाको कार्यालय, वडा कार्यालय, सम्पूर्ण विद्यालयहरू एवं स्वास्थ्य संस्थाहरू (अति आवश्यक सेवाबाहेक) बन्द रहने छन्।
धार्मिक महत्व बोकेको १५ दिने परिक्रमा
मिथिला माध्यमिकी परिक्रमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने धार्मिक यात्रा हो, जसमा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन्। यो परिक्रमा १५ दिनसम्म चल्ने परम्परा रहिआएको छ। मिथिलाञ्चलका प्रमुख सांस्कृतिक उत्सवहरूमध्ये एक मानिने यो परिक्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक पदयात्राको रूपमा प्रख्यात छ।
परिक्रमा अन्तर्गत फाल्गुन १९ गते सोमबार जलेश्वर नगरपालिकाको जलेश्वर क्षेत्रमा टोलीको विश्राम स्थल तय भएकाले नगरपालिकाले विदा दिने निर्णय गरेको हो। नगरप्रमुख सोनारका अनुसार यस अवसरमा नगरवासीले परिक्रमामा सहभागी भक्तजनहरूको स्वागत गर्न सकून् भन्ने उद्देश्यले विदा घोषणा गरिएको हो।
नगरपालिकाले प्रकाशित सूचनामा स्थानीय तहका सम्पूर्ण निकाय, विद्यालय तथा स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) बन्द गरिने उल्लेख गरिएको छ। नगरवासी तथा श्रद्धालुहरूलाई परिक्रमा टोलीको सम्मान र स्वागतका लागि सहकार्य गर्न नगर प्रमुख सोनारले आग्रह गरेका छन्।