
गाैशाला, फाल्गुन २१ गते ।
माओवादी केन्द्रले तराई-मधेश जागरण अभियानअन्तर्गत महोत्तरी जिल्लामा भव्य तयारी गरेको छ। २२ फागुनमा सम्सी बजारमा आयोजना हुने आमसभामा करिब १२ हजार मानिस सहभागी हुने अनुमान गरिएको छ।
पार्टीले यस अभियानलाई जनतासँग प्रत्यक्ष संवाद गर्ने, सुझाव संकलन गर्ने र पार्टी नेतृत्वलाई स्थानीयस्तरसम्म विस्तार गर्ने अवसरको रूपमा लिएको छ। यसै क्रममा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू आज मटिहानी प्रवेश गर्ने कार्यक्रम छ, जहाँ नगरप्रमुखहरू हरि मण्डल र सुरेश साह सोनारले उनीहरूलाई भव्य स्वागत गर्नेछन्।
माओवादी केन्द्रका अनुसार, जिल्लाभर २०० भन्दा बढी स्वागत गेटहरू निर्माण गरिएका छन्। अभियान अन्तर्गत २२ फागुनमा एकडारा गाउँपालिकामा जनतासँग खुला संवादपछि प्रचण्डसहितका नेताहरू सम्सीमा आमसभा गर्न जानेछन्।
यो अभियान फागुन १२ गते झापा जिल्लाको कचनकवलबाट सुरु भएको थियो र २२ गते महोत्तरीमा आमसभा गरेपछि सर्लाहीतर्फ अघि बढ्नेछ ।