
गाैशाला, फाल्गुन २१ गते ।
महाेत्तरीकाे बलवा नगरपालिकामा बहुउद्देश्यीय पाेलीटेक्निकल इन्स्टिच्युटकाे स्थापना हुने भएको छ । रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने संख्याको आधारमा पहिलो चरणमा, मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को आज बसेकाे बैठकको निर्णयअनुसार बलवा नगरपालिकामा बहुउद्देश्यीय पाेलीटेक्निकल इन्स्टिच्युटकाे स्थापना हुने भएको हाे ।
श्रम बजार लक्षित दक्ष, सीपयुक्त जनशक्ति उत्पादन र आपसी हित प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई सघन रूपमा निरन्तर अघि बढाएको छ। यसै क्रममा साउदी सरकारबाट बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट स्थापनाको प्रारम्भिक पूर्वाधार निर्माण गर्न प्राप्त भएको १० लाख अमेरिकी डलर आर्थिक सहयोग र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको प्राविधिक सहयोगमा महोत्तरी जिल्लाको बलवा नगरपालिकामा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना कार्य प्रारम्भ भएको र सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्रलाई प्राथमिकताका साथ विस्तार गरिने व्यहोरा समेत अनुरोध छ।
हाल सञ्चालनमा रहेका व्यावसायिक प्रशिक्षण केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरिन अध्ययन कार्य प्रारम्भ गरिएको छ। रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने संख्याको आधारमा पहिलो चरणमा, मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को यहीँ फाल्गुन ६ गतेकाे बसेकाे बैठकको निर्णयअनुसार फाल्गुन २० गते भूमि सुधार तथा मालपोत कार्यलय, जलेश्वर महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भई “व्यावसायिक प्रशिक्षण केन्द्र, बलवा” को भवन निर्माणार्थ सरकारी जग्गा प्राप्त भएको छ।

व्यावसायिक प्रशिक्षण मार्फत सुरक्षित, व्यवस्थित तथा मर्यादित रोजगारीको सुनिश्चितता
नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यक्ता अनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८१ जारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी, ललितपुर र सोही प्रतिष्ठानको मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्र मार्फत श्रम बजार लक्षित विभिन्न सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस प्रक्रियाबाट दक्ष, प्रतिस्पर्धी तथा सीपयुक्त श्रमशक्ति उत्पादन गरी योग्यता र क्षमताका आधारमा सेवा-सुविधायुक्त रोजगारीको अवसर दिलाउनका साथै सामाजिक सुरक्षाको दिगो व्यवस्थापन एवं श्रमको सम्मानजनक अवस्था कायम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान निरन्तर क्रियाशील रहेको छ।