
गाैशाला, फाल्गुन २२ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा करिब दुई अर्ब रुपैयाँको लगानीमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अगुवाइमा तथा आइएमई ग्रुपको लगानीमा स्थापना गरिएको यो उद्योग देशकै सबैभन्दा ठूलो कागज उद्योग भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे। उद्घाटनपछि उनले उद्योगभित्रै रहेको कागज उत्पादन प्रक्रिया अवलोकन गरे भने वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादनसम्बन्धी जानकारी समेत लिए।

स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्ने लक्ष्य
नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन सुरु गरिसकेको छ। उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी–किताबका लागि आवश्यक कागज उत्पादन गरिरहेको छ।
हाल नेपालमा शैक्षिक, प्रशासनिक तथा अन्य क्षेत्रहरूमा फोटोकपी पेपर तथा विभिन्न प्रकारका कागजहरूको उच्च माग छ। विद्यालय पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायत अन्य सरकारी तथा निजी संस्थाहरूले अब स्वदेशी उत्पादन प्रयोग गर्ने अवसर पाउनेछन्।
नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागजको माग छ, जुन अहिलेसम्म मुख्यतः भारत तथा अन्य देशहरूबाट आयात गरिँदै आएको छ। यो उद्योग सञ्चालनमा आएसँगै नेपालमै गुणस्तरीय कागज उत्पादन हुन थालेको छ, जसले आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ।
नष्ट कागज पुनः प्रयोग गरी वातावरणमैत्री उत्पादन
नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको अर्को विशेषता भनेको नेपालमै पहिलो पटक रिसाइकल (पुनः प्रशोधन) प्रविधिबाट कागज उत्पादन सुरु गर्नु हो। उद्योगले पुराना, नष्ट भइसकेका तथा प्रयोगपछि फालिएका कागज संकलन गरी तिनलाई पुनः प्रशोधन गरेर नयाँ कागज उत्पादन गर्नेछ।
यस प्रविधिबाट उत्पादन गरिएको कागजले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिने बताइएको छ। फालिने कागजलाई पुनः प्रयोगमा ल्याइने भएकाले फोहोर व्यवस्थापनमा पनि मद्दत पुग्नेछ। साथै, उद्योगमा नै वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादन हुने भएकाले अन्य औद्योगिक प्रयोजनका लागि समेत यसको उपयोग गर्न सकिने बताइएको छ।

प्रत्यक्ष ३०० जनालाई रोजगारी, अप्रत्यक्ष अवसर अझै धेरै
नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको सञ्चालनसँगै करिब तीन सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। यसबाहेक, नष्ट कागज संकलन तथा वितरणमा संलग्न व्यक्तिहरू, कच्चा पदार्थ आपूर्तिकर्ता, ढुवानी व्यवसायी तथा कागजका व्यापारीहरूमार्फत अप्रत्यक्ष रूपमा हजारौँ व्यक्तिहरू रोजगारीमा संलग्न हुने अनुमान गरिएको छ।
प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा सम्बोधन गर्दै नेपालमा उद्योगधन्दा विस्तार हुन थालेको र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न यस्ता उद्योगहरू महत्वपूर्ण रहने बताए। उनले सरकार उद्योगमैत्री नीतिहरू अघि सार्न प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा उत्पादन वृद्धि भएसँगै अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे।
आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश
उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको सञ्चालनले आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश भएको जनाउँदै यसलाई नेपालकै औद्योगिक यात्रामा नव जागरण को रूपमा लिइएको बताए।
उनले नेपालमा पहिलो पटक ठूलो मात्रामा कागज उत्पादन सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा नेपाललाई कागज उद्योगमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।
नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको सञ्चालनले आयात प्रतिस्थापन, वातावरण संरक्षण, रोजगारी सिर्जना तथा स्वदेशी उद्योग प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।













