
गाैशाला, फाल्गुन २२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना गर्ने सपना नदेख्न चेतावनी दिएका छन्। बिहीबार महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले नेपालको संविधानले राजतन्त्रलाई मान्यता नदिने स्पष्ट पारे।
ओलीले पूर्वराजालाई २०८४ को चुनाव लडेर प्रतिस्पर्धा गर्न चुनौती दिँदै भने, “नेपालमा कोही जन्मजात राजा हुने र अरूले रैती भएर बस्ने दिन सकिएको छ। हिमाल, पहाड, तराई जहाँबाट पनि उठ्न पाइन्छ, चुनाव लड्नुस् र जनताको समर्थन खोज्नुस्।”

उनको यो भनाइ पछिल्लो समय राजावादीहरूको गतिविधि बढिरहेका बेला आएको हो। गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको भिडियो सन्देशपछि विभिन्न राजनीतिक दलहरू सतर्क बनेका छन्। बुधबार मात्रै राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंसहितका राजावादी समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री ओलीले अब मुलुकमा अराजकता, बलमिच्याइँ र जालझेल चल्न नदिइने बताउँदै “संविधानअनुसार सबैले चल्नैपर्छ” भन्ने धारणा व्यक्त गरे। साथै, उनले औद्योगिक विकास र रोजगारी सिर्जनालाई सरकारको प्राथमिकता रहेको भन्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज आइएमई ग्रुपले स्थापना गरेको हो। उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै पुनःप्रक्रियाकरण गरी नयाँ कागज उत्पादन गर्न सकिने भएकाले कागज आयातमा कमी आउने अपेक्षा गरिएको छ। उद्योगले करिब ३०० जनालाई रोजगारी दिने जनाएको छ।



