
गाैशाला, फाल्गुन २२ गते ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती शक्ति फेरि टाउको उठाउन खोजे, तिनलाई जनताकै बलबाट समाप्त पारिने चेतावनी दिएका छन्।
उनले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित “जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान” अन्तर्गतको खबरदारी सभालाई सम्बोधन गर्दै इतिहास पछाडि फर्कन नसक्ने बताए। “नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्छन्, तर यस्ता सपना देख्नु बेकार छ। इतिहास पछाडि फर्कदैन,” उनले भने ।

अधिकार जनताले आफैं खोसे, संरक्षण पनि जनताकै जिम्मेवारी
प्रचण्डले नेपाली जनताले आफ्नो अधिकार आफैं बलिदान र संघर्षबाट प्राप्त गरेको उल्लेख गर्दै भने, “कसैले राजा, महाराजाले जनतालाई अधिकार दिएका होइनन्। जनताले आफैं लडेर अधिकार खोसेका हुन्। अब यसको रक्षा, प्रयोग, र विकास गर्नु हाम्रो जिम्मेवारी हो।”
उनले पछिल्लो समय उठिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय नेपाली जनताको भविष्यका लागि अपरिहार्य रहेको बताए। “अबको आवश्यकता भनेको जनताले प्राप्त गरेको अधिकारलाई सुदृढ बनाउँदै नयाँ प्रणालीमा जानु हो।”
“अब नयाँ आन्दोलन आवश्यक” – प्रचण्ड
अध्यक्ष दाहालले वर्तमान अवस्थाले देशलाई अगाडि बढाउन नसक्ने दाबी गर्दै नयाँ आन्दोलन आवश्यक रहेको बताए। उनले भने, “अब हामी गम्भीर आत्मसमीक्षासहित जनताको बीचमा आएका छौं। उत्पीडित, उपेक्षित वर्ग, समुदायका घरघरमा पुगेर उनीहरूको आवाज सुन्ने र समाधान खोज्ने हाम्रो अभियान हो ।”

दक्षिण नेपालको समृद्धिका लागि हुलाकी मार्ग अभियान
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियान ले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा ल्याउने दाबी गरे। “हुलाकी मार्गको विकासले मधेसलाई आर्थिक समृद्धि तर्फ लैजान मद्दत गर्छ। यसले नयाँ राष्ट्रिय एकताको आधार तयार पार्नेछ,” उनले भने।
उनले जनता माओवादीसँगै रहनुपर्ने कारण स्पष्ट पार्दै भने, “अब यथास्थितिमा देश चल्दैन। परिवर्तनलाई संस्थागत गर्न, नयाँ युग निर्माण गर्न, सबै उत्पीडित वर्ग समुदायलाई एकजुट हुन आवश्यक छ। त्यसैले, हामी फेरि जनता माझ आएका छौं।”
