
काठमाडौं, फाल्गुन २४ गते ।
‘सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। नेपालमा पनि सरकार, विभिन्न सरोकारवाला निकाय तथा महिला संगठनहरूले विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाउने तयारी गरेका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ भने विभिन्न राजनीतिक दलसम्बद्ध महिला संगठनहरूले पनि आफ्ना कार्यक्रम तय गरेका छन्।
यो दिवसले महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरू स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने तथा लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्य राखेको छ। साथै, महिलालाई शिक्षित, आत्मनिर्भर बनाउने र समाजमा उचित सम्मान गर्ने उद्देश्य पनि यस दिवससँग गाँसिएको छ।
नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, परम्परा वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गर्दै सभ्य तथा समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ। हाल संघीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६.५ प्रतिशत, र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधिहरू रहेका छन्। निजामती सेवामा करिब २८ प्रतिशत महिला कर्मचारीको सहभागिता रहेको छ।

समाजमा व्याप्त हानिकारक प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा रोक्न सबै पक्षको सार्थक पहल आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया तथा राजनीतिक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न अझै थप मेहनत आवश्यक छ।
संयुक्त राष्ट्रसंघले सन् १९७५ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ राखिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए। त्यसपछि संसारभर महिला अधिकारको विषयमा व्यापक चर्चा सुरु भएको मानिन्छ।
आजको दिन, महिला अधिकार तथा समानताको सन्देश फैलाउने अवसरका रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।