
राहुल गुप्ता
बिरगंज, फाल्गुन २४ गते ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगन्ज जेसिसले समाजमा विशिष्ट योगदान दिने चार महिलालाई सम्मान गरेको छ। शनिबार बिरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा बिरगंज जेसिसकी संस्थापक उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, महिला अधिकारकर्मी श्रीला सरकार र प्रहरी जवान कमला कुमारी तामाङलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्मानित महिलाहरुलाई दोसल्ला ओढाइ कदरपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले महिलामाथि हुने विभेद अन्त्यका लागि घरभित्रैबाट सकारात्मक परिवर्तनको थालनी गर्नुपर्ने बताए । उनले महिलामाथि हिंसा र विभेद गर्ने मानसिकताविरुद्ध सामाजिक बहिष्कारको अभियान सञ्चालन गर्न सबैलाई आह्वान गरे ।

बिरगंज जेसिस वर्ष २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, बिरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडिया, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सिमरा जेसिसका अध्यक्ष द्वारिका पौडेल, मानव सेवा आश्रमका प्रतिनिधि देवेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका आयोजक बिरगंज जेसिसका अध्यक्ष चौरसियाले नारी दिवसको अवसरमा समाजको विभिन्न क्षेत्रबाट योगदान पुर्याएका महिलाहरुलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । उनले जेसिसले आगामी दिनमा पनि समाजसेवा, महिला सशक्तीकरण तथा युवाका क्षमता अभिवृद्धि गर्ने कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले महिला अधिकार, लैंगिक समानता र समाजमा महिलाहरूको योगदानबारे आफ्ना धारणा राख्दै आगामी दिनमा अझ बढी महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन आवश्यक रहेको उल्लेख गरे । सम्मानित महिलाहरूले आफ्नो क्षेत्रबाट अझ प्रभावकारी योगदान दिने प्रतिबद्धता जनाउँदै आयोजकलाई धन्यवाद व्यक्त गरे।
यो सम्मान कार्यक्रमले बिरगंज तथा आसपासका क्षेत्रमा महिला सशक्तीकरणको महत्त्व उजागर गरेको छ।