
महोत्तरीको बर्दिवास नगरपालिकाको आयोजनामा तथा सेभ द चिल्ड्रेन, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN), समृद्धि नेपाल, वोरेक नेपालको सहकार्य तथा समन्वयमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ।
मधेश प्रदेश सभा सदस्य शारदा देवी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको उपस्थित रहेको थियो। कार्यक्रममा श्रमिक महिलाहरूको हक, अधिकार, समान ज्याला, श्रम कानुन कार्यान्वयन, तथा कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
दिवसको अवसरमा श्रमिक महिलाहरूको अगुवाइमा सचेतनामूलक र्याली निकालिएको थियो, जसमा महिलाहरूले श्रम क्षेत्रमा समान अधिकार तथा न्यायको माग गर्दै प्लेकार्डसहित नारा लगाएका थिए। र्यालीपछि आयोजित विचार गोष्ठी तथा अन्तरक्रियामा श्रम क्षेत्रमा महिलाहरूले भोग्दै आएका समस्याहरू, श्रम कानुन कार्यान्वयनका चुनौती, तथा समाधानका उपायहरूबारे गहन छलफल भएको थियो।
कार्यक्रममा श्रम क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रमिक महिलाहरूलाई सम्मान गरिएको थियो। साथै, स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न सक्षम महिलाहरूको प्रेरणादायी अनुभवहरू पनि साझा गरिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सांसद शारदा देवी थापाले महिलाहरू श्रम क्षेत्रमा ठूलो योगदान पुर्याइरहे पनि उनीहरूको योगदानको उचित मूल्यांकन हुन नसकेको बताउँदै समान ज्याला, सुरक्षित कार्यस्थल, र श्रमिक महिलाहरूको सशक्तिकरणका लागि नीति निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
नगरपालिकाका पदाधिकारीहरूले महिला श्रमिकहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि आगामी दिनमा विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए। सहभागी संघसंस्थाहरूले पनि श्रम क्षेत्रमा महिलाहरूका अधिकार प्रवर्द्धन गर्ने अभियानलाई अझ व्यापक बनाउने प्रतिवद्धता व्यक्त गरे।
यस कार्यक्रममा श्रमिक महिला समूहका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका पदाधिकारीहरू, अधिकारकर्मीहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजक तथा सहआयोजक संस्थाहरूले आगामी वर्षहरूमा महिला श्रमिकहरूको सशक्तिकरण तथा हक अधिकार सुनिश्चित गर्न थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताएका छन्।
