
गाैशाला, फाल्गुन २८ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१० स्थित यस नारायण माध्यमिक विद्यालय, केशरगञ्जमा नयाँ चार कोठे पक्की भवन निर्माण कार्य सुरू भएको छ। विद्यालय भवनको शिलान्यास नगर प्रमुख श्री मनोज कुमार आचार्य, उपप्रमुख श्री रंजीता चौधरी तथा विद्यालयका प्रधानाध्यापक श्री फणीराज बरालले संयुक्त रूपमा गर्नुभएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रुस्तम मिकरानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईश्वरपुर नगरपालिका वडाध्यक्षहरू, प्रमुख कार्यकारी अधिकृत हिराकाजी श्रेष्ठ, शिक्षा अधिकृत दिनेश लुइटेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, समाजसेवी, जग्गादाता, चन्दादाता, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लगानीमा निर्माण हुन लागेको सो भवनको अनुमानित लागत १ करोड ३५ लाख ५० हजार ७०१ रुपैयाँ ८५ पैसा रहेको छ। ठेक्का प्रक्रियाबाट कैलाशपुरी कन्स्ट्रक्सन प्रा. लि., बागमती–११ ले ८४ लाख ६६ हजार ४४५ रुपैयाँ ६ पैसामा निर्माण कार्यको जिम्मा लिएको छ। सम्झौताअनुसार भवन निर्माण कार्य आगामी २०८२ साल असार ३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिक्षा क्षेत्रको पूर्वाधार मजबुत बनाउन उक्त भवन निर्माण महत्वपूर्ण हुने नगर प्रमुख मनोज कुमार आचार्यले बताउनुभयो। नगर प्रमुख मनोज कुमार आचार्यले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप विकासका योजनाहरू ल्याइने प्रतिबद्धता जनाउनुभयो ।


