पवन प्रसाद साह
बिरगंज, चैत १ गते ।
रंगहरूको पर्व फागु पूर्णिमा (होली) पर्सा जिल्लाकाे बिरगंज लगायत तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ। भौगोलिक संरचना र सांस्कृतिक मान्यताअनुसार फागु पूर्णिमा मनाउने चलन छ। पहाडी जिल्लाहरूमा बिहीबार नै फागु पूर्णिमा मनाइएको थियो, भने मधेस तथा तराईका जिल्लाहरूमा आज विशेष रूपमा होली पर्व मनाइँदै छ।
स्थानअनुसार फागु पूर्णिमाको नाम पनि फरक छ। हिमाली र पहाडी भेगमा यसलाई ‘फागु’ भनिन्छ भने मधेसमा ‘होली’ का रूपमा चिनिन्छ। मैथिली भाषामा यो पर्वलाई ‘फगुआ’ वा ‘होरी’ पनि भनिन्छ। तराई–मधेसका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ।

पन्ध्र दिने मिथिला परिक्रमा समाप्त भएपछि तीर्थयात्रीहरूले जनकपुरधामको परिक्रमा गरी आ–आफ्ना गन्तव्यमा फर्किएपछि मात्र त्यहाँ होली मनाइन्छ। यस अवसरमा यहाँका नाट्य संस्थाहरूले होरी गायन प्रतियोगिता तथा महामूर्ख सम्मेलनको आयोजना गर्ने प्रचलन छ, जसले यस पर्वलाई थप रोचक बनाएको छ।
होली पर्वको सांस्कृतिक महत्त्व
प्राचीनकालदेखि मनाइँदै आएको यो पर्व समानताको प्रतीक मानिन्छ। यद्यपि हाल यसको परम्परागत शैलीमा केही परिवर्तन तथा विकृतिहरू देखिन थालेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा होली पर्वलाई वसन्त महोत्सव र काम महोत्सवका रूपमा वर्णन गरिएको पाइन्छ।

होली पर्व सत्यको असत्यमाथिको, निष्छलताको छलमाथिको, र धर्मको अधर्ममाथिको विजयको प्रतीक मानिन्छ। रंगको माध्यमबाट सबै प्रकारका भेदभावलाई भत्काउँदै परस्पर मित्रता, आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता कायम गर्ने यस पर्वले विविधतालाई समेत सम्मान गर्दै आएको छ।
तराई–मधेसका सहर तथा गाउँहरू रंगीन भएका छन्। बालबालिकादेखि वृद्धसम्म रंग खेल्न व्यस्त छन् भने घरघरमा विशेष परिकारहरू तयार गरिएका छन्। विभिन्न सांस्कृतिक कार्यक्रमहरू, होली मिलन समारोह, तथा संगीत कार्यक्रमहरूका कारण वीरगञ्ज लगायतका स्थानहरू उल्लासमय बनेका छन्।

