दिपेश साह
रौतहट, चैत ३ गते ।
रौतहटको यमुनामाई गाउँपालिकामा नेतृत्व तहको गैरजिम्मेवार शैलीका कारण प्रशासनिक कामकाज अस्तव्यस्त बनेको छ। गाउँपालिका अध्यक्ष साउद आलम र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको लापरवाहीका कारण पालिका कर्मचारीहरू असन्तुष्ट छन् भने सेवाग्राहीहरू मर्कामा परेका छन्।
कर्मचारीहरू असन्तुष्ट, तलबमा ढिलाइ
पालिकाका करार कर्मचारीहरू समयमा तलब नपाउँदा निराश बनेका छन्। नियमित रूपमा कार्यालय समयमा काम गर्ने कर्मचारीहरूलाई महिनौँसम्म पारिश्रमिक नदिइनुले नेतृत्वको असक्षमता देखाएको एक कर्मचारीले बताए।
ठेकेदारसँग मिलेर बजेट कटौतीको आरोप
स्रोतका अनुसार प्रशासकीय अधिकृत जोशी र अध्यक्ष आलमले गौरको पोखरी अगाडि ठेकेदार सुनिल साहसँग मिलेर निजकै घरमा योजनाहरू कटौती गर्ने निर्णय लिँदै आएका छन्। वडास्तरबाट सिफारिस गरिएका योजनाहरूमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थअनुसार बजेट कटौती गर्नु पालिका अस्थिर बनाउने प्रमुख कारण बनेको स्थानीय वडाध्यक्षको आरोप छ।
जोशीको विवादास्पद शासनशैली
गत वर्ष कटहरिया नगरपालिकामा विवादित बनेका प्रशासकीय अधिकृत जोशी जहाँ गए पनि विवाद सिर्जना गर्ने प्रवृत्तिका छन्। उनको एकलौटी शासन शैलीका कारण यमुनामाई गाउँपालिकामा पनि समस्या उत्पन्न भएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
अध्यक्ष आलमको लापरवाही र स्रोतको दुरुपयोग
गाउँपालिका अध्यक्ष आलममाथि पनि गम्भीर आरोप लागेका छन्। स्थानीयहरूका अनुसार उनी पालिकाको कामभन्दा होटलमा समय बिताउने, मदिरा सेवन गर्ने, र व्यक्तिगत काममा व्यस्त हुने गरेका छन्। महिनौँसम्म गाउँपालिकामा नजाने आलमले सरकारी स्रोतको दुरुपयोग गर्दै एक सरकारी गाडी र अर्को भाडाको गाडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेको आरोप छ।
कमिसन प्रथा र अनियमितता
स्रोतका अनुसार ठेकेदारहरूसँग मिलेर पालिकाको योजना अगाडि बढाउने नाममा अग्रिम रूपमा कमिसन लिने, पसलहरूबाट नक्कली बिल बनाउने, र अनियमित तरिकाले तेल तथा अन्य सामग्रीको खर्च देखाउने कार्य भइरहेको छ।
स्थानीयहरू आन्दोलित, सुधारको माग
स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले अध्यक्ष आलम र प्रशासकीय अधिकृत जोशीको गैरजिम्मेवार शैलीले गाउँपालिका अस्तव्यस्त बनेको भन्दै तत्काल सुधारको माग गरेका छन्। यदि सुधार नभए, कानुनी कारबाहीको मागसहित आन्दोलन गर्ने चेतावनी दिएका छन्।

