पवन प्रसाद साह
बिरगंज : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीर जलाएको आरोपमा चितवन प्रहरीले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरेपछि पर्सामा विरोध प्रदर्शन भएको छ।
पक्राउको विरोधस्वरूप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका नेताहरूले सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पचगांवामा एक कार्यक्रमको बीचमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको तस्वीर जलाएका हुन्।
निराजन बमको रिहाइको माग गर्दै राप्रपा पर्साका जिल्ला उपाध्यक्ष अवध किशोर साह, पूर्व केन्द्रीय सदस्य नगिना यादव लगायतका नेताहरूले वर्तमान सरकार र पूर्व सरकारका नेतृत्वकर्ताप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका थिए।
राप्रपा पर्साका उपाध्यक्ष अवध किशोर साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नगिना यादव, नेता चन्दिका सहनी, सुधिर चौधरी, संजय महतो लगायतको उपस्थिति रहेको थियो ।

