अजय मिश्र
कपिलवस्तु, चैत्र ७ गते ।
कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनका लागि पटके सेवा (अस्थायी अनुमति) अब कृष्णनगरबाटै सुरू भएको छ। यसअघि तौलिहवा वा बुटवल धाउनुपर्ने बाध्यता हट्दै कृष्णनगर नाकाबाटै सेवा उपलब्ध गराइएको छ।
यातायात व्यवस्था सेवा कार्यालय तौलिहवाको मातहतमा भन्सार नाकामै पटके सेवा सुरू गरिएको कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिनुभयो। यसबाट भारतीय पर्यटकलाई सहज यात्रा सुविधा प्रदान हुने विश्वास गरिएको छ।
पूर्व सांसद अभिषेक प्रताप शाहले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै, पटके कार्यालय नाकामै स्थापना हुँदा कृष्णनगर बजार र नेपालका धार्मिक स्थलहरूमा चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो।
उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले संघ र प्रदेश सरकारका सरोकारवाला निकायहरूसँग पटक-पटक माग राखिएको उल्लेख गर्दै, पटके सेवा कृष्णनगरमै सुरू गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। साथै, व्यवसायी हकहितमा आफू सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।
यस सेवा सञ्चालनका लागि तौलिहवा यातायात व्यवस्था सेवा कार्यालयको एक्सटेन्सन शाखा पुरानो नगरपालिका भवनमा स्थापना गरिएको छ। यसबाट भारतीय गाडीमार्फत नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

