महाेत्तरी, चैत ८ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि बैठक गरेको छ। बैठक निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित बसेको हो ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादवले पार्टीको केन्द्रीय सर्कुलरअनुसार महोत्तरी जिल्ला समिति अधिवेशनका लागि पूर्ण रूपमा तयार रहेको बताए। उनका अनुसार चैत मसान्तभित्र वडा, पालिका तथा जिल्ला तहसम्मका सबै अधिवेशनहरू सम्पन्न गरिनेछ।
पार्टीका केन्द्रीय समिति, प्रदेश समिति तथा जिल्ला समिति महोत्तरीमा वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गर्ने योजनामा जुटेका छन्। नेता यादवका अनुसार वडा र पालिका तहको अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन गरिनेछ। अर्को बैठकमार्फत जिल्ला अधिवेशनको समय निश्चित गरिने जनाइएको छ।
शुक्रबार बसेको बैठकमा पूर्वमन्त्री हरिनारायण यादव, डा. सुरेन्द्र यादव, सरोजसिंह कुशवाहा लगायतका नेताहरू उपस्थित थिए। पार्टी नेताहरू अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न जुटिरहेको बताइएको छ।





