गाैशाला, चैत ११ गते ।
महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. १० स्थित लेउरी डठौरामा डिप बोरिङ जडानको कार्य शुभारम्भ गरिएको छ। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरत सिंह भण्डारीको विशेष पहलमा कमला सिँचाइ परियोजना अन्तर्गत सो योजनाको थालनी गरिएको हो।
डिप बोरिङ योजनाको भूमि पूजन बलवा नगरपालिकाका नगरप्रमुख राम विजय महतो द्वारा सम्पन्न गरिएको थियो। सो अवसरमा बलवा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राज कुमार यादव, विभिन्न बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय अग्रज तथा बलवा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिँचाइ अभावको समाधानमा महत्वपूर्ण पहल
यस क्षेत्रमा कृषकहरूले लामो समयदेखि भरपर्दो सिँचाइ सुविधाको अभाव खेप्दै आएका थिए। उक्त समस्या समाधानका लागि कमला सिँचाइ परियोजना अन्तर्गत डिप बोरिङ जडान गरिने भएको हो।
नगरप्रमुख राम विजय महतो ले परियोजनाले कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने र भूमिको उचित उपयोगमा योगदान दिने विश्वास व्यक्त गरे। वडा अध्यक्ष राज कुमार यादव ले स्थानीय किसानहरूको जीवनस्तर सुधारका लागि यस्ता परियोजनाहरू आवश्यक रहेको बताए।
स्थानीयको उत्साहजनक सहभागिता
डिप बोरिङ जडान कार्यको शुभारम्भ समारोहमा स्थानीय कृषकहरू उत्साहपूर्वक सहभागी भएका थिए। उनीहरूले पर्याप्त पानी आपूर्ति भएमा खेती प्रणाली सुधार भई आर्थिक उन्नति सहज हुने विश्वास व्यक्त गरे ।
डिप बोरिङ जडानको यो पहलले बलवा नगरपालिकाका किसानहरूलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सरकारी तहबाट सिँचाइ योजनामा गरिएको लगानीले समग्र कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने स्थानीयवासीहरूले बताएका छन्। कमला सिँचाइ परियोजना अन्तर्गत आगामी दिनमा थप सिँचाइ योजनाहरू कार्यान्वयन गरिने अपेक्षा गरिएको छ ।









