दिपेश कुमार शाह
रौतहट, चैत १३ गते ।
राैतहटकाे कटहरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले नगरपालिकाको कमजोर आर्थिक व्यवस्थापनप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार, नगरपालिकाका कर्मचारीहरूले २८ महिनादेखि तलब नपाउँदा प्रशासनिक गतिविधि प्रभावित भएको छ ।
मेयर अजयप्रकाश जैसवालप्रति कटाक्ष गर्दै अध्यक्ष कुशवाहाले भने, “तलब दे, मेयर! तिमीलाई केही फरक पर्दैन, तर सारा कर्मचारीहरू आर्थिक संकटमा छन् । अब त हामीलाई जागिर जोगाउने कि राजीनामा दिने भन्ने अन्योल छ । वडाका कर्मचारीहरूलाई काममा लगाउने कि उनीहरूसँग माफी माग्ने अवस्था आएको छ ।”
नगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा चरम आर्थिक समस्यामा परेका छन् । समस्या समाधानका लागि विभिन्न निकायमा पहल गर्दा पनि कुनै ठोस निष्कर्ष ननिस्किएको गुनासो वडा अध्यक्ष कुशवाहाले गरेका छन् ।
उनले स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले समस्या समाधान गर्नुभन्दा उल्टै दबाव सिर्जना गरेको आरोप लगाउँदै भने, “ताल्चा हान्दा प्रशासन भन्छ – ‘ताल्चा खोल, नत्र हामी आफैं तोड्छौं ।’ तर जब राम्रो प्रशासकीय अधिकृतको माग लिएर मन्त्रीकहाँ जान्छौं, मेयरले हाजिर गराउँदैनन् ।”
नगरपालिकामा आर्थिक अनियमितता र प्रशासनिक अस्थिरताको कारण कर्मचारीहरू मात्र नभई स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू समेत प्रभावित भएका छन् । नगरपालिकाले उचित रूपमा सेवा प्रवाह गर्न नसक्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार, र अन्य क्षेत्रहरू प्रभावित भएका छन् ।
अब यो समस्या समाधानका लागि कुन निकायले पहल गर्ने भन्ने अनिश्चित छ । कर्मचारीहरू आन्दोलित भइरहँदा नगरपालिकाको नेतृत्व भने मौन देखिएको छ ।

