गौशाला, चैत १४ गते ।
जसपा नेपालका केन्द्रीय सदस्य रमेश महतोले पार्टीलाई मजबुत बनाउन सबै नेता, कार्यकर्ता र समर्थकहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ मा आयोजित वडा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशनको सफलताका लागि धन्यवाद दिँदै पार्टी संगठनलाई थप सशक्त बनाउन एकतामा जोड दिए।
पार्टी संगठन सुदृढ बनाउन एकता अनिवार्य : रमेश महतो
उनले भने, “पार्टीभित्रको साना-तिना मतभेदलाई चटक्कै बिर्सेर एकताबद्ध भएर अघि बढ्ने बेला आएको छ। जबसम्म हामी आपसमा सहकार्य र समन्वय गर्न सक्दैनौं, तबसम्म संगठन बलियो बन्न सक्दैन।”
उनका अनुसार, जसपा नेपालले स्थानीय स्तरबाटै संगठनलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू अघि बढाउँदै आएको छ। महतोले अधिवेशनमा निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिँदै आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने दिशामा क्रियाशील हुन आग्रह गरे।
नगर अध्यक्ष झाले कार्यकर्तालाई थप सक्रिय हुन आग्रह
कार्यक्रमका विशिष्ट अतिथि तथा जसपा नेपालका गौशाला नगर अध्यक्ष कुमरकान्त झाले पनि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई मार्गदर्शन गर्दै संगठन सशक्त बनाउन सुझाव दिए। उनले भने, “हामी पार्टीप्रति इमानदार भएर लागेमा मात्र संगठन बलियो बन्छ। जिम्मेवारी पूरा गर्न सबैले आ-आफ्नो तहबाट योगदान दिनुपर्छ।”
झाले संगठन विस्तारका लागि गाउँ-गाउँमा जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए।
वडा अधिवेशनले नयाँ नेतृत्व चयन
वडा कार्यसमिति अध्यक्ष रासबिहारी महतोको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति र कार्यक्रमबारे छलफल गरेको थियो।
यस अधिवेशनबाट लक्ष्मी महतोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। जसमा निम्न पदाधिकारीहरू रहेका छन् :
- उपाध्यक्ष – उर्मिला देवी महतो
- कोषाध्यक्ष – बबिता देवी राम
- सचिव – रामबाबु सिंह
- सह–सचिव – राम पुकार महतो
- सदस्यहरू – रिंकु देवी राम, सुमित्रा देवी यादव, सरिता देवी राम, सन्तलाल महतो, सौखीलाल राउत, बुधन महतो, डोमी सिंह, सत्यनारायण सिंह लगायतका सदस्यहरु सर्वसहमत चयन भएका छन् ।
साथै चैत्र २० गते हुने नगर अधिवेशनको लागी नौ (९) जना अधिवेशन प्रतिनिधि सर्वसम्मतिबाट मनोनयन भएको छ । नव गठित वडा कमिटी र अधिवेशन प्रतिनिधिहरुलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना वक्ताहरुले दिएका थिए ।
वडा अधिवेशनले संगठनलाई मजबुत बनाउने विश्वास
वडा अधिवेशन सम्पन्न भएपछि स्थानीयस्तरमा पार्टी संगठन थप मजबुत हुने विश्वास गरिएको छ। नव-निर्वाचित अध्यक्ष लक्ष्मी महतोले संगठन निर्माणको प्राथमिकताबारे बताउँदै भनिन्, “हामी संगठनलाई स्थानीयस्तरबाटै बलियो बनाउँदै लैजान्छौं। पार्टी नीति तथा कार्यक्रममा आधारित रहेर काम गर्नेछौं।”
अधिवेशनमा प्रमुख अतिथिका रूपमा जसपा नेपालका केन्द्रीय सदस्य रमेश महतो, विशिष्ट अतिथिका रूपमा नगर अध्यक्ष कुमरकान्त झा तथा जिल्ला कार्य समितिका कोषाध्यक्ष एवं निर्वाचित वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित वडा सदस्य र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टीका स्थानीय कार्यकर्ताहरूले यस अधिवेशनलाई पार्टी संगठन सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।






