काठमाडौं, चैत १५ गते ।
नेपाल सरकार गृह मन्त्रालयले पूर्वराजा समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण भेला भन्दै आयोजित प्रदर्शन संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गर्दै हिंसात्मक मोडमा गएको उल्लेख छ।
विज्ञप्तिमा सार्वजनिक सम्पत्ति, अस्पताल, सरकारी कार्यालय, व्यापारिक केन्द्र तथा यातायातका साधनहरूमा आक्रमण गरिएको र अमानवीय तथा अमर्यादित गतिविधि देखिएको उल्लेख गरिएको छ। गृह मन्त्रालयले यस घटनाको जिम्मेवारी प्रदर्शन आयोजक नै हुने भन्दै कानूनी कारबाही हुने चेतावनी दिएको छ।
मन्त्रालयले संविधानले प्रदान गरेको लोकतान्त्रिक व्यवस्था भित्रै रहेर शान्तिपूर्ण विरोध गर्नुपर्नेमा जोड दिँदै हिंसा, तोडफोड तथा अराजक गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ। साथै, शान्ति सुव्यवस्था कायम गर्न कानूनी कारबाहीलाई तीव्र बनाइने मन्त्रालयले जनाएको छ।

