गाैशाला, चैत १६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकाे महाेत्तरीकाे साेनमा गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन वडा नं. १ मा भव्य रूपमा सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४ का पूर्व सांसद एवम् संघीय सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि डा. सुरेन्द्र कुमार यादवले पार्टी संगठनलाई बलियो बनाउन स्थानीय तहका कार्यकर्ताहरूको सक्रियता महत्त्वपूर्ण रहेको बताए। उनले पार्टीलाई सुदृढ बनाउँदै समृद्ध स्थानीय शासनको अवधारणा अघि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै, जसपाका जिल्ला अध्यक्ष राम प्रगास यादवले स्थानीय तहबाटै समृद्धिको यात्रा तय हुने भएकाले नवगठित कार्यसमितिले प्रभावकारी काम गर्नुपर्ने उल्लेख गरे। पूर्व जिल्ला अध्यक्ष राम नरेश यादवले पनि संगठनको सुदृढीकरणका लागि अनुशासन, एकता र निरन्तर क्रियाशीलताको आवश्यकतामाथि प्रकाश पारे।
नवगठित कार्यसमिति
अधिवेशनबाट अशोक कुमार यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसमा –
उपाध्यक्ष : राकेश कुमार यादव
महिला उपाध्यक्ष : सीता देवी साह
सचिव : महेश प्रसाद यादव
सह-सचिव : गन्धिर कुमार यादव
महिला सह-सचिव : मिणा देवी पटेल
कोषाध्यक्ष : श्रीराम ज्ञान यादव
अन्य विभिन्न पदाधिकारी एवं सदस्यहरू चयन भएका छन्।

कार्यक्रममा जसपाका विभिन्न नेताहरूले संगठन विस्तार, स्थानीय तहमा पार्टीको प्रभावकारिता बढाउने उपाय तथा आगामी रणनीतिबारे छलफल गरेका थिए। साेनमा गाउँपालिकाका पूर्व अध्यक्ष राज कुमार यादवले अधिवेशनलाई ऐतिहासिक बताउँदै कार्यसमितिलाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिए।
नवनिर्वाचित अध्यक्ष अशोक कुमार यादवले कार्यकर्ताहरूलाई एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन आग्रह गरे। उनले संगठन निर्माणसँगै विकास, समृद्धि र जनसेवामा पार्टी प्रतिबद्ध रहने बताए।
अधिवेशनमा महोत्तरी जिल्लाका विभिन्न क्षेत्रका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हजारौँको संख्यामा उपस्थित कार्यकर्ताहरूले पार्टीको भावी योजनाबारे जानकारी लिंदै नेतृत्वलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै, पार्टीलाई अझ व्यवस्थित बनाउन समर्पित भएर लाग्न नेताहरूले निर्देशन दिए।

