गाैशाला, चैत १८ गते ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित भेटपुरमा N-Cell टावरको उद्घाटन गरिएको छ । प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विशिष्ट अतिथि प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा, गाउँपालिका अध्यक्ष रामनाथ यादव, र वडा अध्यक्ष राजीव यादवले संयुक्त रूपमा टावरको उद्घाटन गरिएको हाे ।
यसअघि, भेटपुर क्षेत्रका बासिन्दाहरूलाई मोबाइल नेटवर्क कमजोर भएको कारण सञ्चारमा कठिनाइ भइरहेको थियो। नयाँ टावर सञ्चालनमा आएपछि अब उच्च गुणस्तरको नेटवर्क सेवा प्राप्त हुने आशा गरिएको छ, जसले शिक्षा, व्यापार, र अन्य सामाजिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्नेछ ।
स्थानीय नेताहरूले यस अवसरमा खुशी व्यक्त गर्दै, डिजिटल युगमा सञ्चार सुविधाको महत्वलाई उजागर गर्नुभयो। साथै, भविष्यमा थप विकास परियोजनाहरू ल्याएर सम्सी गाउँपालिकालाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त समारोहमा जसपा नेपालको सम्सी गाउँपालिका उपाध्यक्ष सञ्जीव यादव लगायत विभिन्न राजनीतिक दलका नेतागण, नागरिक समाजका प्रतिनिधिहरू, र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। N-Cell टावरको स्थापनाले स्थानीय बासिन्दाहरूलाई दूरसञ्चार सेवामा सुधार आउने अपेक्षा गरिएको छ, जसले सञ्चारमा सहजता ल्याउने विश्वास गरिएको छ ।

