गौशाला, चैत १९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकाे महाेत्तरी जिल्ला रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विजय कुमार यादव नगर अध्यक्ष पदमा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवं संघीय सरकारका पूर्व राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव रहेका थिए भने विशिष्ट अतिथि प्रदेश सांसद तथा पूर्व राज्य मन्त्री सरोज सिंह कुशवाहा थिए।
बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सम्पूर्ण सदस्यहरूलाई सक्रिय रूपमा लाग्न आह्वान गरे। त्यस्तै विशिष्ट अतिथि सरोज सिंह कुशवाहाले पार्टीका इमानदार कार्यकर्ताहरूका लागि आन्दोलन र अधिवेशन पर्वसरह रहेको बताए। साथै, उनले अधिवेशनमार्फत पार्टी तथा जनताका लागि भएका कार्यहरूको मूल्यांकन गरिने बताए।
प्रदेश सदस्य राज नारायण यादवले अधिवेशनलाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। केन्द्रीय सदस्य दीपक झा ‘गुडु’ ले पार्टीका मूल एजेन्डा प्रत्येक नागरिकको घरदैलोमा पुर्याउन आग्रह गरे। साथै, उनले आगामी चुनावमा जसपा नेपाललाई बलियो बनाउन कार्यकर्ताहरूलाई अहिलेदेखि नै तयारीमा लाग्न निर्देशन दिए।
रामगोपालपुर नगरपालिकामा जसपा नेपालको नगर अध्यक्षमा विजय कुमार यादव निर्वाचित भएका छन्। हालसम्म २९ सदस्यीय समिति गठन भइसकेको छ भने अन्य सदस्यहरूको चयन प्रक्रिया बाँकी रहेको छ। समितिको सचिवमा खुसी पटेल चयन भएका छन्।
कार्यक्रममा केन्द्रीय सदस्य श्याम यादव, दीपक झा ‘गुडु’, युवा तथा खेलकुद परिषद्का केन्द्रीय सदस्य रोशन सिंह राणा, जसपा नेपाल महोत्तरी जिल्ला अध्यक्ष रामप्रगास यादव, युवा नेता कमलेश कुमार यादव, सरोज कुमार यादव सहित हजारौं स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।














