पवन प्रसाद शाह
बिरगंज, चैत १९ गते ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ स्थित श्री जनता मावि पकडीया बढनिहार मा भएको शिक्षक नियुक्ति विवाद अदालतसम्म पुगेको छ। पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकको मिलोमतोमा गोप्य रूपमा गरिएको शिक्षक नियुक्ति खारेजको माग गर्दै वडाध्यक्ष सुकमान तामाङसहितका अभिभावकहरूले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा उत्प्रेषण प्रमादेश सम्बन्धी मुद्दा दायर गरेका छन्।
विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध उजुरी
वडाध्यक्ष तामाङसहितका अभिभावकहरूले विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, पर्सागढी नगरपालिका लगायतलाई विपक्षी बनाएर मुद्दा हालेका हुन्। शिक्षा ऐन र नियमावली अनुसार वडाध्यक्ष विद्यालयका संरक्षक हुनु पर्ने तथा विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि रहने प्रावधान हुँदाहुँदै, हतारमा गरिएको शिक्षक नियुक्ति नियमविपरीत रहेको उनीहरूको दाबी छ।
विद्यालय व्यवस्थापन समितिको म्याद २०७८ फागुन ३० गते गठन भई २०८१ फागुन २९ गते सकिएको भए पनि सोही समितिको निर्णयअनुसार प्रधानाध्यापक मोहन प्रसाद चौधरीले शिक्षक नियुक्ति गरेका थिए। वडाध्यक्ष तामाङका अनुसार, विद्यालय प्रशासन, नगरपालिकाको शिक्षा शाखा र जिल्ला प्रशासन कार्यालयमा प्रक्रिया स्थगित गर्न लिखित तथा मौखिक अनुरोध गरिए पनि बेवास्ता गरिएको थियो।
अनियमितता र भागबण्डाको आरोप
विद्यालयमा नेपाली र लेखा विषयका शिक्षक आवश्यक रहेको निर्णय भइसकेको भए पनि पछि गोप्य रूपमा सामाजिक, नेपाली र गणित विषयका शिक्षक नियुक्ति गरिएको भन्दै वडाध्यक्ष तामाङले आपत्ति जनाएका छन्।
पर्सागढी नगरपालिकाको शिक्षा विधेयक २०७८ तथा शिक्षा नियमावली २०७९ अनुसार, शिक्षक नियुक्ति प्रक्रिया शिक्षक तथा कर्मचारी छनोट सिफारिस समिति मार्फत हुनुपर्ने भए पनि यस प्रक्रियालाई मिचिएको उनले आरोप लगाए। प्रमुख प्रशासकीय अधिकृत समिति संयोजक हुनुपर्ने भए पनि नियुक्ति प्रक्रियाबारे जानकारी नभएको भन्दै गैर-जिम्मेवार अभिव्यक्ति दिएका कारण उनी पन्छिन खोजेको वडाध्यक्षको भनाइ छ।
स्थानीय उम्मेदवारको बेवास्ता र धम्कीको आरोप
वडाध्यक्ष तामाङले शिक्षा क्षेत्रमा भाइ, बुहारी, छोरी, ज्वाइँलाई प्राथमिकता दिने प्रवृत्तिविरुद्ध आफूहरू उभिएको बताए। स्थानीय उम्मेदवार र योग्य व्यक्तिहरूलाई निरुत्साहित गरी “राम्रो नभई हाम्रो” भन्ने मानसिकताका आधारमा शिक्षक छनोट गरिएको उनले दाबी गरे।
पटक–पटकको अनुरोध र उजुरी बेवास्ता गरिएपछि बाध्य भएर अदालत जानु परेको वडाध्यक्ष तामाङ बताउँछन्। शिक्षक हाजिरी गराउने क्रममा भएको घटनाको प्रमाणस्वरूप स्थानीय प्रशासन, सञ्चारकर्मी, र सरोकारवालाहरूको रोहवरमा लिइएको भिडियो भए पनि नगर प्रमुख र प्रधानाध्यापकले झुठो आरोप लगाएर ज्यान मार्ने धम्की दिएको उनले दाबी गरे।
यस विषयमा बुझ्न खोज्दा नगर प्रमुख, शिक्षा शाखा, र सम्बन्धित कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्। अदालतको निर्णयपछि मात्र विवाद समाधानको दिशा तय हुने देखिन्छ।

