चमेली सिंह
गाैशाला, चैत २० गते ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. १ स्थित बसबिट्टीमा उजू खाना निर्माणको शिलान्यास गरिएको छ । बुधबार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा संघीय सरकारका पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव र प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रूपमा निर्माण कार्यको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि डा. सुरेन्द्र यादवले समुदायको समृद्धि र स्वास्थ्य सेवामा सुधार ल्याउन यस्ता सामाजिक पहलहरू आवश्यक रहेको बताए । उहाँले रामगोपालपुर क्षेत्रको समग्र विकासका लागि अझ बढी पूर्वाधार परियोजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि कुशवाहाले उजू खाना निर्माणले स्थानीय बासिन्दाको स्वास्थ्य र पोषणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, यसले स्थानीय श्रमशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने पनि उल्लेख गरे ।
यस उजू खानाको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरूलाई पौष्टिक तथा स्वच्छ खानाको व्यवस्था उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष विजय मण्डल, नगर संयोजक विजय यादव, वडा संयोजक अलिम शेख, गुडु शेख, पंचलाल महतो, ब्रिज किशोर यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधिहरू र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








