पवन प्रसाद शाह
बिरगंज, चैत २० गते ।
६८ औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा नारायणी क्षेत्रीय अस्पताल तथा बाल आश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।
नारायणी क्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वमा फलफुल वितरण गरियो। कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दास, डा. श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, सहकारी दिवसको अवसरमा क्लबले बाल आश्रममा समेत फलफुल वितरण गरेको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवले सहकारीको मुख्य उद्देश्य आपसी सहयोग र समाजसेवा भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। उनले सहकारी क्षेत्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले सबैलाई सहकार्य गर्न आग्रह गरे।
नारायणी क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई सहयोग पुग्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा सहयोग पुर्याउने क्लबलाई धन्यवाद दिए।
बाल आश्रममा फलफुल वितरणका क्रममा क्लबका सदस्यहरूले आश्रमका बालबालिकासँग समय बिताए। बालबालिकाहरूले पनि क्लबका पदाधिकारीहरूसँग खुशी साटासाट गर्दै कार्यक्रमलाई आत्मीय रूपमा स्वीकार गरे।
कार्यक्रमको समापनमा क्लबका सचिव प्रदीप कुमार लोहारले सहकारी दिवसको अवसरमा आयोजित यो कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्दै जाने योजना रहेको जानकारी गराए।

