जनकपुरधाम, चैत २४ गते ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। भगवान् श्रीरामको सम्झनामा देशभरका राम मन्दिरहरूमा विशेष पूजा, भजन, प्रवचन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गरेका छन्।
जनकपुरधाममा रहेको ऐतिहासिक राम मन्दिर र जानकी मन्दिरमा आज विशेष चहलपहल छ। भारत र नेपालका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु यहाँ मेला भर्न आएका छन्। राम र सीताको विवाहस्थलको रूपमा प्रसिद्ध जनकपुरधाममा रामनवमीको दिन विशेष महत्व राख्दछ। यहाँ श्रद्धालुहरूले मन्दिर परिसरमा पूजाआजा, कथा वाचन, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका छन्।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको धार्मिक विश्वास छ। यसै स्मृतिमा आजको दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी व्रत बस्ने, रामायण पाठ गर्ने तथा रातभर जाग्राम बसी भजनकीर्तन गर्ने परम्परा छ।
धार्मिक ग्रन्थ ‘व्रतार्क’ अनुसार, आज व्रत बसेर श्रीरामको पूजाआराधना गर्ने व्यक्तिको मनोकामना पूरा हुने र मृत्युपश्चात् बैकुण्ठ प्राप्त हुने विश्वास गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार श्रीरामले ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय आदर्शलाई पूर्ण रूपमा आत्मसात् गरेका थिए। यही कारणले उनलाई ‘आदर्श राजा’ तथा ‘मर्यादा पुरुषोत्तम’ मानिन्छ ।

