पवन प्रसाद साह
बिरगंज, चैत २४ गते ।
पर्साकाे बिरगन्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोष ऐन २०१९ तथा सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सम्झौता भएको छ ।
उक्त सम्झौता सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम कोषका सञ्चयकर्तालाई औषधि उपचारमा सहजीकरण गर्ने उद्देश्यले गरिएको हो। सम्झौताबारे जानकारी दिँदै एनएमसी कलेजका प्रबन्ध निर्देशक (एमडी) शहनाज अन्सारीले कोषका सञ्चयकर्ताले सुविधा दावी गर्दा अस्पतालसँग सम्बन्धित कागजात, बिल वा अन्य विषयमा आवश्यक परेमा अस्पतालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्झौताअनुसार अस्पताल वा कोष दुबै पक्षले एकअर्कासँग कुनै शुल्क, कमिशन वा आर्थिक व्ययभार लिन नपाउने व्यवस्था गरिएको छ। साथै, अस्पतालले सञ्चयकर्ताबाट सहजीकरणका नाममा अतिरिक्त शुल्क लिन नपाउने सहमति पनि भएको अन्सारीले बताए ।

उक्त सम्झौताले सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य उपचार खर्चको सहज र पारदर्शी भुक्तानी प्रक्रिया, आवश्यक बिल/भौचर तथा अन्य प्रमाण संकलन र प्रस्तुतिमा सहजीकरण गर्ने लक्ष्य राखेको छ।
सम्झौतामा एनएमसी कलेजका तर्फबाट एमडी शहनाज अन्सारी र कर्मचारी सञ्चय कोष हेटौंडा शाखाका कार्यालय प्रमुख डा. दिलीपराज पौडेलले हस्ताक्षर गरेका थिए। सो अवसरमा कोषका सहायक प्रबन्धक सन्तोषबहादुर चन्द, अशिष्टेन्ट मेनेजर निशा दहाल, सुबोधबहादुर चन्द र कलेजका सि.ऐ. मौजेलाल कुमार सहनीलगायतको सहभागिता रहेको थियो।
सम्झौता एनएमसी कलेजकै सभाहलमा सम्पन्न भएको कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीले जानकारी दिएका छन् ।

