
चन्दन कुमार महतो
गौर (रौतहट), बैशाख २ गते ।
किशोरीहरूलाई लक्षित गर्दै गौरमा सञ्चालन गरिएको १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरस्थित होटल सिया प्यालेसमा आयोजित तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागिता रहेको थियो ।
उक्त तालिम SAFE Girls परियोजनाको आयोजनामा, KOICA, UNFPA र Good Neighbors International को सहयोग तथा RDC नेपाल को सहकार्यमा सम्पन्न भएको हो।

परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगर/गाउँपालिकाहरू रहेका छन् भने सर्लाहीमा हरिपूर्वा, बसबरीया र कौडेना समावेश छन्।
तालिम दुई समूहमा सञ्चालन गरिएको थियो, जसमा प्रत्येक समूहमा २५ जना सहभागी थिए। १० दिने तालिम अन्तर्गत २.५ दिन मानसिक स्वास्थ्य, ०.५ दिन PSEA (Protection from Sexual Exploitation and Abuse) र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो ।

रुपान्तरण तालिममा पहिलोदेखि दशौं मोड्युलसम्मका विषय समेटिएका थिए । कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उद्घाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी, तथा Good Neighbors International का शक्ति लामा सहभागी थिए ।

कार्यक्रमको सञ्चालन SAFE Girls परियोजनाकी परियोजना संयोजक प्रिया चौरसियाले गरेकी थिइन्। कार्यक्रममा कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो ।
परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो।

तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, तथा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। अब यी ५० जना प्रशिक्षित मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्ना समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने दूतका रूपमा अघि बढ्नेछन् ।
तालिममा मानसिक स्वास्थ्यका प्रशिक्षक चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा प्रशिक्षकका रूपमा रहेका थिए ।
