
चमेली सिंह
गाैशाला, बैशाख ३ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२, कान्तिबजार स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिकोत्सव मनाएको छ । बुधबार एक समारोहका बिच कार्यक्रमको प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो तथा विशिष्ट अतिथि वडा अध्यक्ष कुशेश्वर सिंह र संस्थाका अध्यक्ष हरिहर सिंहले संयुक्तरुपमा केक काटेर वार्षिकोत्सव मनाएकाे हाे ।

प्रमुख अतिथि डा. महतोले सहकारीको निरन्तर प्रगति र योगदानको प्रशंसा गर्दै आर्थिक, सामाजिक तथा कृषि विकासमा सहकारीहरूको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा संस्थाको आफ्नै दुई कोठे भवन निर्माणको लागि प्रमुख अतिथि डा. महतोद्वारा शिलान्यास गरिएको छ । शिलान्यास पछि मन्तव्य दिंदै संस्थाका अध्यक्ष हरिहर सिंहले प्रशासनिक कामकाज सञ्चालनमा सहकारीसँग आफ्नै भवन नहुँदा समस्या आइरहेको र अबको केही महिनाभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

संस्थाले विगत ९ वर्षदेखि कृषकहरूलाई वित्तीय पहुँचको सुविधा पुर्याउँदै कृषि उत्पादन, आत्मनिर्भरता र समुदायको समग्र आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ । नयाँ भवन निर्माणसँगै संस्थाको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रम अध्यक्षता संस्थाका अध्यक्ष हरिहर सिंह, विशिष्ट अतिथिका वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
